तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङको सिदिङ्वाले कार्यविधि बनाएर राहत वितरण सुरु गर्‍यो

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बाढी पहिरो प्रभावितलाई राहत वितरण सुरु गरेको छ । पालिकाले कार्यविधि तय गरेर मानवीय क्षति भएका परिवार देखि घर चौपाया गुमाएका परिवारलाई राहत उपलब्ध गराउन थालेको हो । 

बाढी पहिरो गएको लामो समयपछि पालिकाले पहिलो चरणमा मृत्यु भएका तथा बेपत्ता भएका पिवालाई ६०/६० हजारका दरले राहत वितरण गरेको पालिकाका अध्यक्ष मानबहादुर राईले बतउनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएपछि यसअघि आर्थिक कारोबार हुन नसक्दा राहत वितरणमा ढिलाइ भएको अध्यक्ष राईले बताउनुभयो  । 

गाउँपालिकाले बाढी पहिरोमा परी मृत्यु भएका सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहेलेका बाबु छोरा केशरबहादुर राई,सुरेश राई र गणेश तामाङका आफन्तलाई जनही ६० हजार रुपैयाँका दरले राहत रकम दिएको छ । यस्तै पहिरोले बेपत्ता बनाएका मेहेले भालुखोपका एकाघरका भगिमायाँ बुढाक्षेत्री, सन्ध्या बुढाक्षेत्री र प्रज्वल बुढाक्षेत्रीका आफन्तले पाउने जनही ६० हजार रकम भगिमायाँका श्रीमान् यादवकुमार बुढाक्षेत्रीलाई वितरण गरिएको छ । 

गाउँपालिकाले पूर्णरुपमा विस्थापित भएका प्रतिपरिवार ५ हजार देखि ४० हजार सम्म, अङ्गभङ्ग भएका प्रतिव्यक्ति २७ हजार र शारीरिक रुपमा घाइते भएकालाई उपचार खर्च बापत प्रतिव्यक्ति २० हजार रकम उपलब्ध गराउने कार्यविधिमा उल्लेख भएपछि हाल उपलब्ध गराएको छैन । यस्तै पशु गुमाएका हकमा भैँसी भए प्रतिगोटा १५ हजार,गाईगोरु भए १० हजार,भेडाबाख्रा भए ५ हजार र बङ्गुर–सुँगुर भए प्रतिगोटा ३ हजार रुपैयाँका दरले राहत रकम वितरण गर्ने तय भएपनि बाटोघाटोको समस्याले ढिलाइ भएको समेत अध्यक्ष राईले बताउनुभयो । 

गाउँपालिकाको कर्मचारी समस्याले राहत वितरण ढिलाइ भएपनि जिल्ला विपद् व्यवस्थापन, रेडक्रस लगायत विभिन्न संस्थाहरूले राहत वितरण गरिरहेको पालिकाको भनाइ छ । यता जिल्लको आठराई त्रिवेणी गाउँपालिकाले समेत मृतक ३ तथा बेपत्ता ३ गरी ६ जनाका आफन्तलाई जनही ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । 

असार १ गते रातिदेखि परेको अविरल वर्षाका कारण बाढी पहिरोमा सिदिङ्वा गाउँपालिकामा ३ जनाको ज्यान गएको थियो भने ३ जना बेपता बनेका छन् । पालिकाको मेहेले, सुरुम्खिम र आङ्खोपका ४२ घरपरिवार पुर्णरुपमा विस्थापित बनेका अध्यक्ष राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button