तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा दुग्ध उत्पादन माग भन्दा कम

जनकपुरधाम । एक जनालाई प्रति वर्ष ९२ लिटर दूधको आवश्यकता भए पनि मधेश प्रदेशमा उत्पादन भएको दूधले एक जनालाई ७२ लिटर मात्र पुग्ने गरेको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष एवं वरिष्ठ पशु चिकित्सक डा. शम्भु साहले बताउनुभएको छ ।

अहिले प्रदेशमा ३ लाख ८१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ ।

दुग्ध विकास बोर्डले जनकपुरधाममा आयोजना गरेको “स्वच्छ तथा गुणस्तरीय दुग्ध उत्पादन सङ्कलन तथा बजारीकरण सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया” को उद्घाटन गर्दै मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले प्रदेश दुग्ध उत्पादनमा आत्म निर्भर नभएको बताउनुभयो । प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउनका लागि पशुहरूको नश्ल सुधार, उन्नत जातको पशुपालन, पोषिलो आहार तथा आरामदायी पशु गोठको निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजय खनालले मधेश प्रदेशमा अनुमति पत्र लिएर १०८ वटा डेरी उद्योग सञ्चालनमा रहेको बताउँदै अनुमतिका लागि अझै थुप्रै निवेदन परे पनि प्रक्रिया नपुगेकाले अनुमति नदिइएको बताउनुभयो । उहाँले दूधमा सोडा मिलाउने काम पूर्ण रुपमा गलत भएको र यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button