तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ : अर्थमन्त्री डा महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित हुने बताउनुभएको छ ।

आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)सँग आज अर्थमन्त्रालयमा भएको भेटमा उहाँले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सरकार लागिरहेको बताउनुभयो ।

‘अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी सरकार लागिरहेको छ, मेरो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रीत रहेको छ’, उहाँले भन्नुभयो ।

उहाँँले अर्थतन्त्रमा लगानी, बैंकको ब्याजदर, पुँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । मुलुकको अर्थतन्त्रमा बाह्य र आन्तरिक समस्याले गर्दा राजस्व सङ्कलन कम भएको उहाँको भनाइ छ ।

अर्थमन्त्री डा महतले मुलुकको राजस्व सङ्कलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिबन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको बताउनुभयो ।

उहाँले साधारण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चितिकोलगायत अन्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले निराशा भइहाल्ने अवस्था नरहेको बताउनुभयो ।

अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने उहाँको भनाइ थियो । उहाँले सरकारको दायित्वभित्र रहेका तलब, भत्ता, शिक्षा, स्वास्थ्यलाई चाहेर पनि कम गर्न नसक्ने बताउनुभयो ।

अर्थमन्त्री डा महतले बजेटको प्रभावकारिता कार्यान्वयन गर्ने र उत्पादनशील क्षेत्रमा लगानीको सुनिश्चित हुनेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताउनुभयो । उहाँले उद्योग व्यवसायमा लगानी गरी आम्दानीको दायरा वृद्धि, वैदेशिक तथा आन्तरिक लगानी प्रवद्र्धन हुनुपर्ने उल्लेख गर्नुभयो । सरकारले राजस्वमा वृद्धि गर्नसके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button