तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको रक्षा गर्न परिवर्तनकारी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको रक्षा गर्न परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

शनिबार हेटौँडामा आयोजित एकीकृत समाजवादी मकवानपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले पछिल्लो समय वर्तमान व्यवस्था र संविधानमाथि नै चुनौती दिन प्रतिगामीहरू सक्रिय भएकाले त्यसको रक्षा गर्न परिवर्तन पक्षधर एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो । “हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, संविधान तथा सङ्घीयतामाथि नै चुनौती आउने गरी प्रतिगामीहरू सक्रिय हुन थालेका छन् । त्यसैले यो व्यवस्था र संविधान जोगाउन सबै परिवर्तनकारी, सङ्घीयतावादी शक्ति एकताबद्ध हुन जरुरी छ”, अध्यक्ष नेपालले भन्नुभयो ।

त्यसैगरी उहाँले एकीकृत समाजवादी सरकार फेरबदलमा केन्द्रित नरहेको तर जनताको पक्षमा काम गर्ने बलियो तथा स्थायी सरकार निर्माण गरेर आर्थिक, सामाजिक विकासका काममा केन्द्रित हुन नेतृत्वकर्तालाई खबरदारी गरिरहेको बताउनुभयो ।

पार्टीको दसौँ महाधिवेशनमा आफ्नो पार्टीले नेपाली समाज, राजनीति र विकासका बाधक पहिचान गरी समृद्धिको यात्रा तय गर्न चाहेको पनि अध्यक्ष नेपालको भनाइ भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button