तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीमा समस्यामा परेका ३९ जनालाई १ करोड २६ लाख क्षतिपूर्ति

नेपालगञ्ज । वैदेशिक रोजगारीमा समस्यामा परेका बाँकेका ३९ जनाले क्षतिपूर्तिस्वरुप १ करोड २६ लाख भन्दा बढी राहत रकम पाएका छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहजीकरणमा चालू आर्थिक वर्षको हालसम्म वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरूले राहतस्वरुप उक्त रकम प्राप्त गरेका हुन् । 

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, अङ्गभङ्ग, उद्धार तथा जालसाजीमा परेका उनीहरूले सामी कार्यक्रमको समन्वयमा वैदेशिक रोजगार बोर्डबाट १ करोड २६ लाख १९ हजार ४ सय ४० रुपैयाँ प्राप्त गरेको सामीका कार्यक्रम संयोजक कमल सिंह नेपालीले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका १३ जनाले ३२ लाख ५० हजार, कोहलपुर नगरपालिकाका ९ जनाले ४५ लाख ५० हजार, खजुरा गाउँपालिकाका ३ जनाले ५ लाख २९ हजार ४ सय ४०, बैजनाथ गाउँपालिकाका ८ जनाले २१ लाख र अन्य ठाउँका ६ जनाले २१ लाख रुपैयाँ आर्थिक सहायता प्राप्त गरेको नेपालीले बताउनुभयो । 

यस्तै आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा लिनेको सङ्ख्या ९ हजार ६ सय २० छ । ती मध्ये नेपालगञ्जका २ हजार ३ सय ४१, कोहलपुरका २ हजार १९, खजुराका १ हजार ४ सय ९१, बैजनाथका १ हजार ३ सय ९९ र अन्य ठाउँका २ हजार ३ सय ७० जना छन् । जुन लक्ष्य भन्दा झण्डै दोब्बर हो । यसैगरी रिटर्नी स्वयंसेवक परिचालनमार्फत घर भेट तथा सूचना प्रवाहको कार्य प्रगति पनि उल्लेखनीय रहेको सामीका कार्यक्रम संयोजक नेपालीले बताउनुभयो । १० हजार ८ सय लक्षित सङ्ख्या रहेकोमा त्यो सङ्ख्या ८ हजार ९ सय ९८ छ ।

सामीले ‘सुरक्षित वैदेशिक रोजगारीका लागि प्रहरीसँगको अन्तरक्रिया कार्यक्रम’मा आज यो तथ्याङ्क प्रस्तुत गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामीका कार्यक्रम संयोजक नेपालीले हालसम्मको प्रगति विवरण, सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले वैदेशिक रोजगार ऐन र प्रमुख जिल्ला अधिकारीको भूमिका तथा वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी नायब निरीक्षक धर्म बहादुर चन्दले प्रहरीको भूमिकाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले सहजीकरण गर्नुभएको कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, आर्थिक विकास संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, प्रहरी प्रतिनिधिहरुको सहभागिता रहेको सामीका घनश्याम वलीले जानकारी दिनुभयो । सामीले वैदेशिक रोजगारीमा गएर फर्केका वा जान थालेकालाई तालिम, परिवारका सदस्यलाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, कानुनी सहायता, सूचना तथा परामर्श सेवा दिँदै आएको छ ।

सुरक्षित आप्रवासन ९सामी० कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button