तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरको त्रियुगामा विश्व बैङ्कको ६६ करोड लगानीमा सडक बन्ने

उदयपुर । विश्व बैङ्कको लगानीमा उदयपुरको त्रियुगा नगरपालिकामा सडक निर्माण हुने भएको छ । त्रियुगा नगरपालिकाको गौरवको आयोजनाको रुपमा लिइएको शहरी सडक विश्व बैङ्कको लगानीमा निर्माण हुने भएपछि उक्त योजनाको बिहीबार शिलान्यास गरिएको छ ।

उदयपुरको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा विश्व बैङ्कको ६६ करोड लगानीमा ४ वटा वडामा १४ दशमलव ५ किलोमिटर आधुनिक सडक बन्ने भएको हो । विश्व बैंकले शहरी विकास मन्त्रालयमार्फत ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाको वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा सडकको कालो पत्रे निर्माण गर्ने भएपछि बिहीबार एक कार्यक्रमका बिच योजनाको शिलान्यास गरिएको छ । त्रियुगा नगरका नगर प्रमुख बसन्त कुमार बस्नेत र नगर उपप्रमुख महेश्वरी राईले आयोजनाको शिलान्यास गर्नु भएको हो ।

नगरको महत्त्वपूर्ण सहरी क्षेत्र गाईघाट बजारको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणका लागि विश्व बैंकले दिएको सहयोगलाई नगरले गौरवको आयोजनाका रुपमा लिएर काम अघि बढाएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।  नगरभित्रका मदन भण्डारी र सगरमाथा राजमार्गलाई जोड्दै गाईघाट बजार एरियाका महत्वपूर्ण सडक एक आपसमा जोडिने गरी लिङ्क रोड निर्माण गर्नेगरि अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा अनुसार सडक दुई लेन सहित स्टेट लाइट र सम्पूर्ण सुविधा सहितको योजना बनाएर कामको थालनी गरिएको समेत नगर प्रमुख बस्नेतले बताउनु भयो ।

उप मेयर महेश्वरी राईले सडक निर्माण गर्दा वातावरणीय परिक्षण, आदिवासी जनजाति तथा अन्य क्षेत्र र वर्गका जनतालाई फाइदा हुने गरि योजना ल्याइएको बताउनु भयो ।

दुई प्याकेजमा निर्माण हुने यो सडकको निर्माण अवधि १५ महिना रहेको  जानकारी त्रियुगा नगरपालिकाका इन्जिनियर निर्मल चौधरीले दिए । उनका अनुसार पहिलो प्याकेजमा त्रियुगा नगरपालिकाको वडा नं. १० र  ११ को ९ दशमलव ९२७ किलोमिटरका लागि ४५ करोड ६१ लाख ६२ हजार ८६२ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यसैगरी दोस्रो प्याकेजमा त्रियुगा नगरपालिकाको वडा नं. १२ र १३ को सडकका लागि २० करोड ३८ लाख ४८ हजार २ सय ७८ रुपैयाँमा ठेक्का सम्झौता भएको त्रियुगा नगरपालिकाले जनाएको छ । 

आशिष आशीर्वाद स्वामी नारायण जेभीले निर्माण सम्झौता गरेको यो आयोजना सञ्चालनका लागि विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एक अर्ब रुपैयाँभन्दा बढी) रकम उपलब्ध गराएको थियो । संघीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण गरिनेछ । विश्व बैङ्कसँगको सम्झौतामा ती सबै सडक ०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button