तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा धन्यवाद ज्ञापन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्ण रूपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै उहाँले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) मा शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको हो । साथै मतदाताको उत्साहपूर्ण सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएका पनि उहाँले उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले उपनिर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिनुभएको पनि विज्ञप्तिमा उल्लेख छ । “निर्वाचनमा संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकामा इलाम र बझाङका मतदाताप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दछु । उपनिर्वाचनमा सक्रिय सहभागिता जनाएर अभिव्यक्त भएको अमूल्य मतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न थप योगदान पु¥याउने विश्वास छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोग, निर्वाचनमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मी लगायतलाई पनि उहाँले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button