तपाईँ सुन्दै हुनुहुन्छः

हराएका २३ वटा दुई पाङ्ग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका २३ वटा दुई पाङ्ग्रे सवारी फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी २० ओटा मोटरसाइकल र ३ वटा स्कुटर धनीलाई बुझाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले जानकारी दिनुभयो । 

यस आर्थिक वर्षको सुरुवात देखी हाल सम्म सवारी साधन हराएको भनी ११६२ ओटा निवेदन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका ३५३ वटा सवारी साधन माथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जसमध्ये आजको २३ वटा सहित ३२८ वटा दुई पाङ्ग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले धनीको जिम्मा लगाई सकेको छ । 

यसै फागुन महिनामा ट्राफिक प्रहरीले विभिन्न स्थानमा खोजी गर्दा फेला परेका चोरीको २४ ओटा मोटरसाइकल सहित नियन्त्रणमा लिएका २६ जनालाई पनि आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा बुझाइएको छ । अन्य हराइ फेला पर्न बाँकी रहेका सवारी साधनको हकमा समेत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तदारुकताका साथ अनुसन्धान तथा खोजतलास गरिरहेको ट्राफिक महाशाखाले जनाएको छ । 

यस्तै यही आर्थिक वर्षमै धनी नखुलेका ९५ ओटा दुई पाङ्ग्रे सवारी साधनलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ । जसमध्ये असोज महिनामा ३६, पुसमा ४०, माघमा १४ र फागुनमा ५ ओटा  सवारी साधन बुझाइएको  हो ।  

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन सम्बन्धित धनी स्वंयमले पनि आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरू अवलम्बन गर्नको लागि पनि प्रहरी उपरीक्षक काफ्लेले अनुरोध समेत गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button