तपाईँ सुन्दै हुनुहुन्छः

माझी समुदायले मनाउने लदी पर्वका अवसरमा प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसङ्ख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मङ्गलवार मनाउने लदी पर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । 

प्रधानमन्त्री प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको मुलुकमा  प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ । 

माझी जातिले आजको दिनमा विशेष गरेर नदी र पानीको पूजा गरी मनाउने चाडपर्वले माझी जाति र पानीको सम्बन्धलाई थप उजागर र स्थापित गर्ने भन्दै सम्पूर्ण माझी समुदायसहित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यस अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न आग्रह समेत गर्नु भएको छ । 

प्रधानमन्त्री प्रचण्डले लदी पर्वलाई माझी जाति र अन्य समुदायको बीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button