तपाईँ सुन्दै हुनुहुन्छः

भारत–नेपाल विकास साझेदारी सम्मेलन काठमाडौंमा सम्पन्न 

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ महामारी लगायतका कठिन समयमा भारतले नेपाललाई गरेको सहयोगको प्रशंसा गर्नुभएको छ ।

भारतीय दूतावासले दक्षिण एसियाली अध्ययन केन्द्र (सीएसएएस) सँगको सहकार्यमा भारत–नेपाल विकास प्रयासको इतिहास र भविष्यका बारेमा छलफल गर्न सोमबार आयोजना गरेको भारत–नेपाल विकास साझेदारी सम्मेलनलाई सम्बोधन गर्नुहुर्दै उपप्रधानमन्त्री श्रेष्ठले भारत नेपालको प्रमुख विकास साझेदार भएको बताउनुभयो ।

दुई देशबीचको सांस्कृतिक घनिष्ठता कारण नेपाल र भारतबीचको  सम्बन्ध सधैँ सौहार्दपूर्ण रहने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । 

उपप्रधानमन्त्री श्रेष्ठले भारतले सन् १९५४ मा गौचरण विमानस्थल–हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई– नेपालको पहिलो विमानस्थलको रुपमा र सन् १९५६ मा त्रिभुवन राजमार्ग निर्माण गरेको स्मरण गराउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ महामारी लगायतका कठिन समयमा भारतले नेपाललाई सधैं सहयोग गर्दै आएको बताउनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाललाई अतिकम विकसित मुलुकको श्रेणीबाट उत्तीर्ण गर्न आवश्यक विकास सहायता उपलब्ध गराउन भारतले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । 

त्यसैगरी नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले विकास आयोजना सुरु गर्नुअघि विविध पक्षका बारे ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वाणिज्य सचिव मधुकुमार मरासिनी, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्ले, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतका वक्ताले कनेक्टिभिटी, ऊर्जा व्यापार, र नेपाल र भारत बीच व्यापार सन्तुलनमा जोड दिनुपर्ने बताउनुभयो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button