तपाईँ सुन्दै हुनुहुन्छः

चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली झान्शु नेपाल आउनु हुँदै

काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले आजदेखि नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

अध्यक्ष झान्शुले आजदेखि ३० गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ आज अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्नु हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

सभामुख सापकोटा र अध्यक्ष लीले आज प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ । आजैसाँझ सभामुख सापकोटाले अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नुहुनेछ ।

नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पर्सि र प्रधानमन्त्री शेरबहादुर देउवासँग भोलि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । यसैगरी उहाँले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ भने परराष्ट्रमन्त्री डा नारायण खड्काले उहाँसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उहाँको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button