तपाईँ सुन्दै हुनुहुन्छः

गएराति देखिको झरीले मधेश प्रदेशका किसानलाई राहत

जनकपुरधाम । गएराति देखि परेको झरीका कारणले मधेश प्रदेशमा थोरै भएपनि किसानहरूलाई राहत मिलेको छ । झरीका कारणले सुक्न थालेको धानबालीलाई थोरै भएपनि बचाऊँ गरेको जनकपुरधाम वडा नंं ८ का किसान रामचन्द्र उपाध्यायले बताउनुभयो । 

करिब डेढ बिघामा धानको रोपाई गरेर दुई पटक दुग्धमति नदिबाट दमकल लगाएर सिँचाई गरेपनि खेल निक्कै सुख्खा भएका कारणले सुक्ने गरेको बताउनु भयो । गए राति र आज दिउँसोसम्म भएको झरीका कारणले सुक्न थालेको धानको प्राण रक्षा गर्न मद्दत पुगेको अर्का किसान रघुवीर रायले जानकारी दिनुभयो । 

लामो समयसम्म मधेश प्रदेशका जिल्लाहरूमा पानी नपरेका कारणले किसानहरू निक्कै चिन्तित बनेका थिए । दुःख गरेर रोपिएको धान खेतमा चिरा परेर धान सुक्न थालेका थिए । गएराति देखिको वर्षाले खेतमा पानी नजमेपनि किसानलाई ठूलो राहत मिलेको छ । यसले सुक्न थालेको धानलाई रक्षा गर्ने भएको छ । 

मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा लामो समयसम्म वर्षा नभएका कारणले किसानहरू निक्कै चिन्तित बनेका थिए । सिँचाइको वैकल्पिक माध्यमले खेतमा पानी पठाए पनि टिक्न कठिन भएका वेलामा गएराति देखिको झरीले किसानहरू खुशी भएका छन् । 

मधेश प्रदेशका ८ जिल्ला किसानहरूले भदौको पहिलो सातासम्ममा ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाई गरिसकेको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिस कुमार पालले जानकारी दिनु भएको छ । कुनै पनि वर्ष शत प्रतिशतमा रोपाई नहुने गरेको सूचना अधिकारी पालले जानकारी दिनु भयो । 

मधेश प्रदेशका जिल्लाहरूमा कूल कृषि योग्य भूमि मध्ये ४ लाख ५ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको मन्त्रालयले उपलब्ध गरेको तथ्याङ्कमा उल्लेख रहेको छ । मधेश प्रदेशको प्रमुख खाद्यान्न बालीको रुपमा धान नै रहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button