तपाईँ सुन्दै हुनुहुन्छः

धेरै फोहर सङ्कलन गर्नेलाई नगद पुरस्कार प्रदान गरिने

तनहुँ । व्यास नगरपालिकास्थित बुल्दीखोला र भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिकाको सिमानास्थित चुँदीखोलामा बृहत् सरसफाइ अभियानअन्तर्गत धेरै फोहर सङ्कलन गर्नेलाई नगद पुरस्कारको प्रदान गरिने भएको छ ।

व्यास नगरपालिका–४ दमौलीका अभियन्ता सुदीप गफ्फारको सक्रियतामा बुल्दी–चुँदीखोलामा बृहत् सरसफाई अभियान गर्न लागिएको हो । उहाँका अनुसार धेरै फोहर सङ्कलन गरी पहिलो हुनेलाई रु १० हजार र दोस्रो हुनेलाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

बुल्दी र चुँदीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्देश्यले वृहत् सरसफाइ अभियान सञ्चालन गर्न लागिएको गफ्फारले बताउनुभयो । उहाँले भन्नुभयो, “भावी पुस्ताका लागि दुवै खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । दुवै खोलाको अवस्था देखेर सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको छु ।”

बुल्दीखोलामा वैशाख २९ गते र चुँदीखोलामा आगामी जेठ ५ गते सरसफाइ अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । अभियानका लागि हरेक टोल र क्लबसँग समन्वय गरिएको बताउँदै उहाँले एउटा टोलीमा १५ जना सहभागी हुनसक्ने जानकारी दिनुभयो ।

बुल्दी र चुँदीखोला सरसफाइ अभियानलाई निरन्तरता दिने उहाँको भनाइ छ । प्रतियोगितात्मक रुपमा वर्षको एकपटक मात्रै अभियान सञ्चालन गरिने र त्यसपछिका हरेक महिनाको अन्तिम शनिबार नियमित रुपमा सरसफाइ अभियान हुने उहाँले जानकारी दिनुभयो ।

बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महर्षि वेदव्यासले बुल्दीखोलामा हात धोएको धार्मिक महत्व छ । त्यसकारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गा ढुङ्गामा देवताको बास छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button