तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालबाट निस्कने फोहरबाट ऊर्जा उत्पादन

नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालबाट उत्पादन हुने फोहरबाट ऊर्जा उत्पादन गर्न थालिएको छ ।

अस्पतालबाट निस्कनेमध्ये कुहिने फोहरलाई बायोग्यास प्लान्टमार्फत ऊर्जा (मिथेन ग्यास) उत्पादन गरी अस्पतालको आवासीय मेस (भान्सा)मा प्रयोग गर्न थालिएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा रु आठ लाख लगानी गरी ४० घनमिटर क्षमताको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याइएको हो ।

प्लान्ट सञ्चालनले अस्पतालजन्य कुहिने फोहरको विसर्जनको समस्या समाधानसहित फोहरका कारण लाग्नसक्ने सरुवाजन्य रोग नियन्त्रण र इन्धन उत्पादनले अस्पतालको खर्च बचाएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको प्लान्टबाट करिब ४० जनासम्मलाई खाना, खाजाका लागि आवश्यक इन्धन उत्पादन भएकाले ऊर्जा उत्पादनको दायरा बढाएर अस्पतालको चमेना गृहलाई बिक्री गर्ने लक्ष्य छ ।

त्रिशूली अस्पतालले अस्पतालको सेवा प्रभावकारी बनाउन दक्ष जनशक्तिको व्यवस्थापन, आवश्यक उपकरणको प्रबन्ध र विशेषज्ञ सेवाको विस्तार गर्दै अस्पताल सञ्चालनका क्रममा देखिएका आन्तरिक समस्याको समाधानलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
सो क्रममा फोहर विसर्जनका लागि प्लान्टको निर्माणसहित डिप बोरिङ निर्माण गरेर पानीको सुविधा सहज बनाइएको छ ।

‘न्यूनतम सेवा मापदण्ड’मा त्रिशूली अस्पतालले देशभरका सरकारी अस्पतालमध्ये आर्थिक वर्ष २०७७/७८ मा ८३ अङ्क प्राप्त गरेको थियो भने गत आव २०७८/७९ मा ९४ अङ्कको साथ देशभरको उत्कृष्ट अस्पताल घोषित भएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button