तपाईँ सुन्दै हुनुहुन्छः

विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध: मन्त्री राई

नेपालगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले मुलुकमा विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बाँकेको नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयको अमृत महोत्सवलाई सम्बोधन गर्दै मन्त्री राईले भौतिक पूर्वाधार र यातायात क्षेत्रको व्यवस्थित विकासका लागि आफू प्रतिबद्ध भएर लागेकाले छिट्टै परिणाम देखिने बताउनुभयो ।

उहाँले पुस्तकालयको स्तरोन्नतिका लागि आफूले तत्काल ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दै स्थानीय, प्रदेश र केन्द्र सरकारबाट आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री राईले महेन्द्र पुस्तकालय नेपालगञ्जको धरोहर रहेको बताउँदै यसको विकास र संरक्षण जरुरी रहेको उल्लेख गर्नुभयो ।

अमृत महोत्सवमा लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, प्रदेशसभाका सांसद द्वय आइपी खरेल, कृष्णा केसी नमुना लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।

सो अवसरमा पुस्तकालयले स्थापनाकालदेखि २०५४ सालको कार्यसमितिसम्म पुस्तकालय कार्यसमितिका सदस्य तथा कर्मचारीहरूलाई अमृत महोत्सव पदकसहित सम्मान गरिएको तदर्थ समितिका सदस्य सनतकुमार रेग्मीले बताउनुभयो ।

वि.सं. २००३ सालमा नेपालगञ्जमा प्रेम पुस्तकालयको नामबाट स्थापित भएको पुस्तकालय पछि महेन्द्र पुस्तकालयमा परिणत भएको थियो । लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहेको महेन्द्र पुस्तकालय २०७८ चैत २९ गते तदर्थ समिति गठन गरी क्रियाशील छ । समितिको पूर्णताका लागि भाद्र २९ गते निर्वाचन गर्ने पुस्तकालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button