तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष तिमिल्सिनाद्वारा रानी–जमरा सिँचाइ आयोजनाको निरीक्षण

कैलाली । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कैलालीमा निर्माणाधीन रानी जमरा कुलारिया सिँचाइ आयोजनाको निरीक्षण गर्नुभएको छ।

राष्ट्रिय सभाअन्तर्गत सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको ‘संघीय शासन प्रणाली सबलीकरण’ सम्बन्धी कार्यक्रमका लागि सुदूरपश्चिम आउनुभएका अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको रानी जमरा सिँचाइ आयोजनाको निरीक्षण गर्नुभएको हो ।

सो अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन पुग्नुभएका  राष्ट्रिय सभाका सांसदहरू सहित पुग्नुभएका उहाँसँगै सिँचाइ आयोजनाको निर्माणको प्रगति र समस्याबारे जानकारी लिनुभएको थियो।

रानी जमरा सिँचाइ आयोजना आर्थिक वर्ष २०७१/०७२ देखि सुरु भएको र कुल लागत १ अर्ब ९८ करोड २ लाख ४१ हजार रहेको आयोजना हो। कैलालीको करिब ३८ हजार हेक्टर जमिनमा सिँचाइ हुने आयोजनाको हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको र ८५ प्रतिशत वित्तीय प्रगति रहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर टोपबहादुर खत्रीले जानकारी दिनुभयो।

कर्णाली नदीबाट १ लाख लिटर प्रतिसेकेण्ड पानी सिँचाइका लागि नहरमा पठाउने उद्देश्य रहेको र ४.७१ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको र चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button