तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको भानु नगरपालिका भित्र खादा प्रयोग गर्न नपाइने

तनहुँ । तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा मनाही गरेको छ । गत जेठ २४ गतेको भानु नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णय भए अनुरुप प्रयोगमा पूर्ण रोक लगाइएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।

विभिन्न कार्यक्रम, सभा, बैठक, समारोह तथा अन्य सम्मान लगायतका कार्यहरूमा समेत खादा प्रयोग नगर्न निर्देशन दिइएको भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताउनुभयो ।

खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकोले यसको प्रयोग नगर्न सम्बन्धित निकायहरूमा आजै परिपत्र गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले अगाडी थप्नुभयो ’अब उप्रान्तका दिनमा हुने कुनै पनि कार्यक्रममा प्रयोग नगर्न र नगराउन नगरपालिकाका सबै निकायमा जानकारी गराइएको छ ।’

भानु नगरपालिका भित्र सञ्चालित विद्यालय, कलेज, शिक्षालय, सामुदायिक सिकाई केन्द्र,सार्वजनिक पुस्तकालय, बाचनालय तथा अन्य सम्पूर्ण सार्वजनिक कार्यक्रममा प्रयोगमा ल्याइने छैन । त्यसैगरी सामुदायिक शैक्षिक संस्थाहरूमा आयोजना गरिने वार्षिकोत्सव सभा,बैठक समारोह, स्वागत तथा बिदाइ कार्यक्रम जस्ता सार्वजनिक कार्यक्रमहरूमा खादा प्रयोगमा पूर्ण रुपमा बन्देज लगाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button