२०७९ साल असोज २१ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व उपराष्ट्रपति झाको ‘मधेसको माटो म’ लोकार्पण

रेडियो नेपाल २०७९ साउन ३० गते २१:३८

काठमाडौँ । पूर्व उपराष्ट्रपति परमानन्द झाको जीवनको भोगाइ समेतका विषयवस्तु समेटिएको ‘मधेसको माटो म (सप्तरीदेखि शासन सत्तासम्म)’ पुस्तक लोकार्पण गरिएको छ । उपराष्ट्रपति कार्यालय लैनचौरमा आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त पुस्तकको लोकार्पण गर्नुभयो ।

पुस्तकमा गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपतिका रूपमा रहनुभएका झाको जीवन भोगाइ समेटिएको छ । पुस्तकमा उहाँको सिङ्गो जीवनको कथा उल्लेख गरिएको छ । परिवार, देश, मधेस, न्याय, उपराष्ट्रपति लगायत विषयलाई तीन खण्डमा सङ्गृहीत गरिएको छ ।

पुस्तकको पहिलो खण्डमा पृष्ठभूमि र पात्रता, दोस्रो खण्डमा न्यायको पथमा र तेस्रो खण्डमा झाङ्गिएको झा परिवारसम्बन्धी भोगाइ राखिएको छ । पुस्तकमा झाको बाल्यकाल, अध्ययन, न्याय क्षेत्रमा प्रवेश, राजनीतिक जीवन, पहिचानको मुद्दा, तीता मीठा अनुभव संलग्न गरिएको छ ।

पुस्तकको लोकार्पण गर्नुहुँदै उपराष्ट्रपति पुनले जनताको सङ्घर्षको बलमा प्राप्त गणतन्त्रकै कारण जनताको छोराछोरी मुलुकको सर्वोच्च पदमा पुग्न सफल भएको बताउनुभयो । जनताको त्याग, तपस्या र बलिदानबाट मुलुकमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व सुनिश्चित भएको उल्लेख गर्दै उहाँले प्राप्त उपलब्धिमा सबै नेपाली, भूगोल र वर्गले गर्व गर्न सक्नुपर्ने बताउनुभयो ।

कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्रकुमार सिंहले पहिचानको मुद्दालाई स्थापित बनाउन पुस्तकले सहयोग गर्ने बताउनुभयो ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालले पुस्तकले लेखकीय व्यक्तित्वको चर्चा मात्र नगरी सिङ्गो मधेसलाई ऐनाजस्तै छर्लङ्ग पारेको बताउनुभयो ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुस्तकले मधेस आन्दोलन, समाज, संस्कृति, राजनीति र इतिहास बोकेको बताउनुभयो ।

समीक्षक उद्धवप्रसाद भट्टराईले पुस्तकले लेखक झाको देश र माटोप्रतिको अगाध स्नेहलाई प्रस्ट पारेको उल्लेख गर्दै पुस्तक पठनीय, मननीय र प्रेरणास्पद रहेको बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता डा सुरेन्द्रकुमार झाले संविधानमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई स्वीकार गरिएको भए पनि राज्यको मनोविज्ञान अझै परिवर्तन हुन नसकेको बताउनुभयो ।

लेखक कुञ्जका अध्यक्ष कमल ढकालले साहित्यमा सिर्जनशीलताको खोजी गर्दै प्रत्येक नागरिकलाई सिर्जनशील बनाउन आफू लागिपरेको बताउनुभयो ।

लेखक झाले पुस्तकमा आफूले जीवन भोगाइ, अनुभव र व्यवहार उल्लेख गरेको बताउनुभयो ।

विसं २००२ सालमा सप्तरीको मौवाहा (हाल बलान विहुल गाउँपालिका)मा जन्मनुभएका झा नायब सुब्बा, कानून अधिकृत, जिल्ला न्यायाधीश, उच्च अदालतको मुख्य न्यायाधीश र सर्वोच्च अदालतको न्यायाधीश हुँदै मुलुकको उपराष्ट्रपति पदमा पुग्नुभएको थियो ।
रासस

सम्बन्धित