तपाईँ सुन्दै हुनुहुन्छः

कृषि औजार कारखाना सञ्चालनका लागि अध्ययन गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गर्नुभएको छ ।

मन्त्रालयमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँगको भेटमा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई सञ्चालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै सञ्चालनमा ल्याउने र त्यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविष्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष्य रहेकोले त्यसमा सहयोग गर्न केन्द्रलाई आग्रह गर्नुभयो ।

भेटमा केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखाना नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार, उपकरणको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरूको आविष्कार गर्न महत्त्वपूर्ण रहेको बताउनुभयो ।

पुनले कारखानालाई पुनर्जीवन दिई कृषि औजार आविष्कार केन्द्र समेत बनाउने अर्थमन्त्रीको योजनाप्रति आफ्नो समर्थन रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button