तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिक, सामाजिक र सांस्कृतिक समानताका कारण नेपाल–भारत बीचको सम्बन्ध अनुपम

काठमाडौँ । विभिन्न राजनीतिक पार्टीका नेता एवं पूर्वमन्त्री र पूर्वराजदूतहरूले भौगोलिक निकटका साथ धार्मिक, सामाजिक र सांस्कृतिक समानताका कारण नेपाल–भारत बीचको सम्बन्ध अनुपम रहेको बताउनुभएको छ । 

छिमेकी मित्रराष्ट्र भारतको ७५औँ स्वतन्त्रता दिवसका उपलक्ष्यमा नेपाल–भारत मैत्री समाजद्वारा आज आयोजित कार्यक्रममा वक्ताहरूले समान मूल्य, मान्यता एवं रोटीबेटीका सम्बन्धका कारण नेपाल–भारत बीचको सम्बन्ध विशिष्ट रहेको बताउनुभयो । 

दुई देशका नागरिक–नागरिक बीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै उहाँहरूले यस किसिमको सम्बन्धलाई अझ प्रगाढ, घनिष्ठ र उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिनुभयो । 

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भारतीय स्वतन्त्रता सङ्ग्राममा नेपालीहरूले पनि भाग लिएको उल्लेख गर्दै अब भारतको समृद्धि र विकासबाट नेपाल लाभान्वित हुन सक्नुपर्ने समय आएको बताउनुभयो ।  

नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा राजन भट्टराईले दुई देशबीच रहिआएको सुमधुर र अनुकरणीय सम्बन्धलाई अझ प्रगाढ, घनिष्ठ र उपलब्धिमूलक बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

नेपालस्थित भारतीय दूतावासका काउन्सिलर अनिल गिरीले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक र अनुपम रहेको चर्चा गर्दै यस किसिमको सम्बन्धलाई अझ थप उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । 

समाजका अध्यक्ष प्रेम लस्करीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री हिसिला यमी, जनता समाजवादी पार्टीका नेता मनिष सुमन, भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय र प्रा डा लोकराज बराल, नेपाल सरकारका पूर्वमुख्यसचिव तीर्थमान शाक्य र नेपाल मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले सरकारी तहका साथ जनता–जनताको बीच सम्बन्ध अझ प्रगाढ बनाउने दायित्व नागरिक समाजको पनि रहेको बताउनुभयो । 

भारतको ७५औँ स्वतन्त्रता दिवसका उपलक्ष्यमा आज काठमाडौँ, लैनचौरस्थित भारतीय दूतावाससहित नागरिक समाजका विभिन्न तह र तप्काबाट कार्यक्रम आयोजना गरिएका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button