तपाईँ सुन्दै हुनुहुन्छः

‘आगामी दिनमा विभिन्न विधामा थप प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिन्छ’

काठमाडौँ । रेडियो नेपालले सञ्चालन गरेको ३ महिने सङ्गीत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

रेडियो नेपालले आज सिंहदरबारमा आयोजना गरेको एक कार्यक्रमबीच प्रशिक्षण कार्यक्रमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रेडियो नेपाल सञ्चालक समितिका सदस्य सिताराम पोखरेलले प्रशिक्षणका क्रममा सिकेका सीप व्यवहारमा उतार्दै निरन्तर सङ्गीतको साधनामा लाग्न सके तालिमको उपलब्धि भएको मानिने बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले स्थापना कालदेखि नै गीत–सङ्गीतको विकास र उत्थानका लागि काम गर्दै आएको र भावी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।

रेडियो नेपालको सात दशक लामो इतिहासले यसलाई कलाकारहरूको उत्पादन केन्द्रका रुपमा परिचित गराएको बताउनुहुँदै कार्यकारी निर्देशक केसीले आगामी दिनमा गीत–सङ्गीतका विभिन्न विधामा थप प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिने पनि बताउनुभयो ।


कार्यक्रममा रेडियो नेपाल कार्यक्रम महाशाखाका उप–निर्देशक रमेशचन्द्र पौडेल र सङ्गीत महाशाखा प्रमुख मनराज नकर्मीले सङ्गीतको क्षेत्रमा सफलता प्राप्त गर्न निरन्तरको साधना आवश्यक रहेको बताउनुभयो ।

रेडियो नेपालले सञ्चालन गरेको दशौं सङ्गीत प्रशिक्षण कार्यक्रममा गायन, हार्मोनियम, तबला, मादल, बाँसुरी र गितार विधामा देशभरबाट ५३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

विक्रम संवत् २०७८ साल मङ्सिर ९ गतेबाट सुरु भएको ३ महिने सङ्गीत प्रशिक्षण कार्यक्रम कोरोना महामारीका कारण पटक–पटक स्थगित भई हालै मात्र सम्पन्न भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button