तपाईँ सुन्दै हुनुहुन्छः

गाई पालनबाट मनग्य आम्दानी गर्दै कमला

स्याङ्जा । भीरकोट ६ ठाडोहटियाकी कमला गोदार व्यावसायिक गाई पालनमा लाग्नुभएको ८ वर्ष भयो ।

गोदारले हाल ५ वटा उन्नत जातका गाई पालन गरी दैनिक ६० लिटर दूध बिक्री गर्दै आउनुभएको छ ।

२०७२ देखि लगनशील महिला गाई पालन फर्म दर्ता गरी व्यावसायिक दूध उत्पादनमा लाग्नुभएकी गोदार श्रीमानले विदेशमा कमाए पनि आफूले पनि केही गर्नुपर्छ भन्ने मान्यताका साथ गाई पालनमा लाग्नुभएको हो ।

बयरघारी स्थित शुभलक्ष्मी सहकारीले गाई पालनका लागी ऋण सहयोग गरेपछि उहाँले दुई वटा गाईबाट व्यावसायिक गाई पालन सुरु गर्नुभएको थियो ।

गोदारले दूध बिक्रीबाट मासिक रुपमा ९० हजारको कारोबार गर्दै आउनुभएको छ । होलिस्टोन जातका उन्नत गाईले दूध धेरै दिने र सम्पुर्ण गाईको बिमा समेत गर्नुभएकी गोदारलाई आफ्नो कामबाट निकै सन्तुष्टि मिलेको छ । ल्याक्टो हेरेर ५० देखि ५५ प्रतिलिटरमा दूध बिक्री भइरहेको छ । गोदार जस्तै अन्य कृषकहरूले उत्पादन गर्नुभएका दूध भीरकोट सहकारी संस्थाले बजारीकरण गरिदिएको छ ।

दैनिक बिहान ४ बजेदेखि उहाँको दैनिकी सुरु हुन्छ । एक्लै ५ वटा गाईका लागि आवश्यक घाँस काट्ने, दाना व्यवस्थापन लगायतका काममा उहाँ आफैँ खटिनुहुन्छ ।

बयरघारीको पुलको मुखमा रहेको सङ्कलन केन्द्रमा दूध जम्मा हुन्छ भने भीरकोट नगरपालिकाले दूध ढुवानीमा अनुदान समेत दिँदै आएको छ । मासिक रुपमा एटिएमबाट पैसा बुझ्दा कमला निकै खुसी हुनुहुन्छ । दुई छोराछोरीको पालनपोषण गरी कमलाले गाई पालन समेत गर्न भ्याउनुभएको हो ।

श्रीमान् श्रीमती एक रथका दुई पाङ्ग्रा रहेकाले घर व्यवहारदेखि हरेक कुरामा दुवैको महत्त्वपूर्ण हात हुने भएकाले श्रीमानकै भरमा नपरी श्रीमती समेत आर्थिक उपार्जनमा लाग्नुपर्ने कमलाको विचार छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button