तपाईँ सुन्दै हुनुहुन्छः

सडक कालोपत्रे गर्ने कार्यको मन्त्रीद्वारा शिलान्यास

बारा । मानमत मटियर्वा सडकखण्डको संस्कार एफएमदेखि दुर्गा स्कुल सम्मको ३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यको भौतिक पूर्वाधार तथा यातायात मन्त्री महम्मद इश्तियाक राईले शिलान्यास गर्नुभएको छ ।

त्यस अवसरमा मन्त्री राईले कुनै पनि राजनीतिक पार्टीको आवरणमा ठेक्का लिएका ठेकेदारले सम्झौता बमोजिमको कामकाज गर्न आनाकानी गरे त्यस्ता ठेकेदारलाई नछाडिने बताउनुभयो ।

आफूले मन्त्रालय सम्हाल्दा ८२ वटा योजना अलपत्र रहेको बताउँदै उहाँले त्यसलाई झारेर ३४ वटामा ल्याइएको र क्रमशः सबै कामलाई तदारुकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लाइसेन्स बनाउने जिम्मा प्रदेश सरकारलाई दिएको बताउँदै अब चाँडै लाइसेन्स निकाल्ने प्रिन्टर मेसिन पनि प्रदेश सरकारलाई दिई प्रदेशबाट २ दिन भित्रमा लाइसेन्स दिने व्यवस्था मिलाइने जानकारी पनि उहाँले दिनुभयो ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको अध्यक्षतामा सम्पन्न सो शिलान्यास कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद रामबाबु कुमार यादव, पूर्व मन्त्री ज्वाला कुमारी साह, संविधानसभा सदस्य प्रमोद गुप्ता, प्रदेश सांसद पारस साह, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह लगायतले मानमत मटियर्वा सडक निर्माणले कलैयाको मुहार फेर्नेमा आफूहरू आसावादी रहेको बताउनुभयो ।

उक्त कार्य सप्तकोसी जलाधार ओम साई एण्ड कम्पनी जेभी नयाँ बानेश्वर १० काठमाडौँले २२ करोड ३९ लाख ८६ हजार ३ सय ९८ रुपैयाँ ९४ पैसाको लागतमा सम्पन्न गर्ने गरी ठेक्का लिएको हो । २०७९ माघ २ गतेभित्र कालोपत्रे सम्पन्न गर्ने गरी काम अघि बढाउने सम्झौता भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button