तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश यातायात कार्यालयमा ४ः३० बजेदेखि अनलाइन फाराम खुला      

हेटौँडा  । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सवारी चालक अनुमति पत्रका लागि बायोमेट्रिकका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४ः३० बजेदेखि अनलाइन फाराम भर्ना समेतको व्यवस्था मिलाइएको बताउनुभएको छ । उहाँका अनुसार मन्त्रालयले आज सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।    

सेवाग्राहीको चाप बढेपछि मन्त्रालयले गत असार २८ गते तोकिएको कोटामा एक हजार दुई सय १५ जना थप गरी शुक्रवारदेखि लागू हुने गरी तीन हजार छ सय ७५ पुर्‍याएको मन्त्री दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिचौलियाले थप कोटामा मनपरी गर्न नसकुन् भनेर शुक्रबार ४ः३० बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाइएको छ ।    
    
यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार दुई सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी भोलि नै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको मन्त्री दाहालको भनाइ छ ।    
    
मन्त्रालयका सचिव यमलाल भुसालले सबभन्दा बढी आवेदन जगातिस्थित कार्यालयबाट दिन सकिने र सबभन्दा कम आवेदन एकान्तकुनास्थित कार्यालयबाट दिन सकिने बताउनुभयो । 

एकान्तकुनामा सवारी चालक अनुमतिपत्र नवीकरणको प्रक्रियामा आएका गुनासो फर्छ्योट गर्नुपर्ने, पुरानो अभिलेख रुजु गर्नेको सङ्ख्या अत्यधिक हुने भएकाले तत्कालका लागि न्यूनतम कोटा तोकिएको उहाँले जनाउनुभयो ।    
    
बागमती प्रदेश सरकारले यातायात सेवा कार्यालयको सुधारसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सचिव भुसालले बताउनुभयो ।

यसअघि नै मन्त्रालय मातहतको कार्यालयबाट सम्पादन भइरहेको सवारी चालक अनुमतिसम्बन्धी वर्ग थप र नयाँ आवेदनका लागि सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न प्रदेश सरकारबाट अतिरिक्त समयमा कार्यालय सञ्चालनको सुरुआत भइसकेको उहाँको भनाइ छ ।    
     
सेवाग्राहीहरूले https://applydl.dotm.gov.np/ मा गएर तोकिए बमोजिमको विवरण प्रविष्ट गरी चाहेबमोजिमको मितिका लागि आवेदन दिन सक्ने र अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिका लागि आवेदन दिन सक्ने बेहोरा सूचनामा खुलाइएको सचिव भुसालले बताउनुभयो ।     
    
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र श्रम, रोजगार तथा यातायात मन्त्री दाहालको निर्देशनका आधारमा सुधार कार्य अगाडि बढिरहेको र अनुगमन भइरहेको सचिव भुसालले जानकारी दिनुभयो ।    
    
उहाँका अनुसार बागमती प्रदेश सरकारले २०८३ सालसम्मको पालो कुरेर बसेका सबै सेवाग्राहीले जेठको दोस्रो हप्ताभित्रै सेवा प्राप्त गरिसकेका छन् ।

बागमती प्रदेश मातहतको यातायातसम्बन्धी सबै सेवा प्रवाहको तथ्याङ्कलाई दैनिक रूपमा वेबसाइटमै राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button