तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिरमा दर्शन गरी बेलुकीको आरतीमा सहभागी हुनुभएको छ ।

मूल मन्दिरभित्र प्रवेश गर्नुभई राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रह लगायत देवीदेवताको दर्शनसहित पशुपतिनाथ दर्शन विधिअनुसार दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

पशुपतिनाथ मूल मन्दिरमा बेलुकी नियमित हुने आरतीमा पनि उहाँ सहभागी हुनुभएको थियो । राष्ट्रपति भण्डारीले साउन महिनाको एउटा सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै आउनुभएको छ ।

साउनको चौथो सोमबार आज विगतका सोमबारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । आज बेलुकीसम्म पनि भक्तजनको भीड रहेको थियो ।

पशुपतिनाथमा आज १६० जनाले विशेष पूजा गरेका छन् । साउनको सोमबार रु सात हजार ५०० को विशेष पूजाको रसिद काट्ने गरिएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button