तपाईँ सुन्दै हुनुहुन्छः

आदिवासीलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ: काँग्रेस महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायको उत्थान, प्रवर्द्धन गरी उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने बताउनुभएको छ ।

विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आयोजना गरेको ‘विश्व आदिवासी दिवस विशेष भेला’ मा उहाँले नेपालको राष्ट्रियताको आन्दोलनमा आदिवासी जनजातिको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूको अधिकार र पहिचानका लागि विशेष महत्त्व दिनुपर्ने धारणा राख्नुभयो ।

महामन्त्री थापाले नेपालका जातजाति, भाषाभाषी, संस्कृतिको विकास नभएसम्म मुलुक समृद्ध नहुने भन्दै समानुपातिक समावेशिताको नीतिअनुरूप नेपालको विकास र समृद्धिको यात्रालाई अघि बढाइनुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसका आदर्शवादी नेता भीमबहादुर तामाङको ‘पहिचान भेटिने र जातीय द्वन्द्व मेटिने’ नारालाई आत्मसात् गरेर जनजाति आन्दोलनलाई अघि बढाउनुपर्ने खाँचो औँल्याउँदै सङ्गठनलाई क्रियाशील बनाएर विचार निर्माण गर्ने नयाँ अभियानमा भूमिका खेल्न आग्रह गर्नुभयो ।

नेता थापाले आगामी मङ्सिर ४ गते घोषित आम निर्वाचनमा पार्टीलाई बलियो बनाउन आवश्यक तयारी स्वरूप यही साउन ३० र ३१ गते देशभरका स्थानीय तहका प्रमुखलाई राजधानी बोलाएर प्रशिक्षण दिइने तथा भदौ २ गतेदेखि २४ गतेसम्म कांग्रेसका सबै नेतालाई जिल्लामा पठाउने पार्टीले निर्णय गरेको पनि जानकारी दिनुभयो ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देबेले आदिवासी जनजाति समुदायको उत्थान प्रवर्द्धन र हकहितका विषयमा सबै आदिवासी समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनमा बढीभन्दा बढी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन पनि सबै सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जातीय विविधता र संस्कृति नेपालको पुँजी हो भन्दै समानता र समावेशीकरणको सिद्धान्तअनुरूप आदिवासीको हित प्रवर्द्धनमा सबै जुट्नुपर्ने बताउनुभयो । प्रवक्ता महतले कांग्रेस हरेक नागरिकको अधिकार र लोकतान्त्रिक मूल्यमान्यता सहितको कानुनी शासनप्रति विश्वास राख्ने पार्टी रहेको भन्दै नेपालको पहिचानका रुपमा रहेका आदिवासी जनजातिको अधिकारका लागि आगामी दिनमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button