तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा बलात्कारका घटना वर्षेनी बढ्दै

सल्यान । सल्यानमा बलात्कारका घटना बर्सेनी बढ्दै गएको पाइएको छ । 

बलात्कारका घटना न्युनिकरण गर्न सरकारी तथा गैर सरकारी निकायबाट पहल गरिए पनि घटनामा भने कमी आउन सकेको छैन । 

सल्यानमा गत आर्थिक वर्षभित्र ३७ वटा बलात्कारका घटनाका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बलात्कृत हुनुमा मादक पर्दाथ सेवन तथा आपराधिक मनोवृत्ति प्रमुख कारण देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो । 

बलात्कार, बलात्कार प्रयास तथा अन्य महिला हिंसाको मुख्य कारणको रुपमा मदिरा सेवन अनुसन्धानका क्रममा देखिएको उहाँको भनाई छ ।  

कतिपय बलात्कार र बलात्कार प्रयासका घटना प्रेम सम्बन्धका कारण पनि हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । बलात्कारसँगै सबै यौन हिंसाका घटना प्रहरी कार्यालयसम्म नआउने गरेको खड्काको भनाई छ । 

उमेर नपुग्दै बालबालिका बिच प्रेम सम्बन्ध हुने र पछि अभिभावकले थाहा पाएपछि त्यसलाई जबरजस्ती करणीको रुपमा मुद्दा हाल्ने प्रवृत्तिले पनि घटनामा वृद्धि देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालको भनाई छ । 

जिल्ला अदालत सल्यानमा  २०७८ साल साउन देखि २०७९ साल असारसम्म ६४  वटा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएको सल्यान जिल्ला अदालतले जनाएको छ । 

ती मध्ये ३० वटा फर्छ्यौट भएका छन् भने ३४ वटा मुद्दा विचाराधीन रहेको सल्यान अदालतका श्रेष्तेदार हेमन्त ज्ञवालीले बताउनुभयो ।  

अदालतको तथ्याङ्क अनुसार धेरै जसो घटनामा बालिका पीडित भएको देखिएको बलात्कार तथा बलात्कार प्रयासका मुद्दा दर्ता गरे पनि कतिपय भने होस्टाइल भइदिने गरेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button