तपाईँ सुन्दै हुनुहुन्छः

गुँला पर्वमा पर्यटनमन्त्री श्रेष्ठ सहभागी, स्वयम्भू महाचैत्यको परिक्रमा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागी भई काठमाडौँको स्वयम्भू महाचैत्य परिक्रमा गर्नुभएको छ ।

नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमा गर्नुभएको हो ।

गुँला पर्व बुद्ध धर्मावलम्बी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । काठमाडौँको बौद्ध परम्परामा यसको विशेष महत्त्व रहेको उहाँको भनाइ छ । गुँला महिना भर धा: घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा खिं जस्ता बाजा बजाई पूजापाठ गर्ने प्रचलन छ ।

यस पर्वमा अघिअघि बाजा र सङ्गीत, पछि पछि भक्तजनहरू रहने गर्दछन् । यस पर्वले विभिन्न बाजा लगायत संस्कृतिको संरक्षणमा टेवा पुर्‍याएको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले यसको जीवन्तताको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button