तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा सानै उमेरमा गर्भवती हुनेको सङ्ख्या बढी 

सल्यान । बालविवाह न्युनिकरण गर्न सरकारी तथा गैरसरकारी निकायबाट प्रयास भएपनि सल्यानमा भने उक्त प्रयास प्रभावकारी देखिएको पाइएको छैन ।

पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लाभर ४ हजार ७ सय २३ जना २० वर्षमुनिका किशोरीहरू गर्भवती भएको देखिएको छ । 

विगतको तुलनामा केही मात्रामा घटेको देखिए पनि उल्लेख्य मात्रामा सानै उमेर गर्भवती हुनेको सङ्ख्यामा कमी आउन सकेको पाइँदैन । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाभर ७ हजार २ सय ५७ महिला गर्भवती भएकोमा १ हजार ७ सय ५७ जना गर्भवती २० वर्षमुनिका रहेका छन्  । 

आर्थिक बर्ष २०७७/०७८ मा ६ हजार १९ महिला गर्भवती भएकोमा १ हजार ५ सय ९५ जना गर्भवती २० वर्षमुनिका भएका छन् भने गत आर्थिक वर्ष २०७८/०७९मा  ५ हजार ८ सय ५ जना गर्भवती भएकोमा १ हजार ३ सय ७१ जना २० वर्षमुनिका रहेका छन् ।

कार्यालयका सूचना अधिकारी थलराज डिसीले स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने २० बर्ष मुनिका किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको बताउनुभयो । 

बर्सेनि जिल्लामा २० बर्ष मुनिको गर्भ जाँच गराउन आउने किशोरीहरूको सङ्ख्यामा तुलनात्मक रुपमा कमी आए पनि अपेक्षाकृत रुपमा कमी आउन नसकेको उहाँको भनाई छ । 

केही गर्भवतीहरू पायक पर्ने छिमेकी जिल्लाका स्वास्थ्य संस्थाहरूमा पनि गर्भ जाँच गराउन जाने भएकाले जिल्लाको तथ्याङ्कमा कम देखिएको हुनसक्ने उहाँको भनाइ छ ।

२० वर्ष नपुगी गरिएका बालविवाह स्वतः रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद र जरिवाना वा दुवै हुन सक्ने कानूनी व्यवस्था रहेपनि बालविवाह गर्ने क्रम रोकिएको छैन । 

बालविवाह गर्नेहरू प्राय १५ वर्षदेखि १९ वर्षका रहेका छन् । बालविवाहले किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यमा समस्या निम्तिने गर्दछ ।

शारीरिक र मानसिक रुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले २० वर्ष पुगेपछि मात्रै विवाह गर्न उपयुक्त हुने सल्यान जिल्ला अस्पतालका डा.अभिषेक सिंहले बताउनुभयो । सानै उमेरमा गरिने विवाहका कारण मातृ मृत्युदर समेत बढी हुने उहाँको भनाइ छ । 

महिलाको शारीरिक विकास नभइसकेको अवस्थामा गर्भ रहँदा बच्चामा नकारात्मक प्रभाव पर्ने र बच्चा कम तौलको जन्मिने, सुस्त मनस्थितिको हुने, बच्चा खेर जाने, कुपोषण हुने समस्या देखा पर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button