तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको राजनीति स्थायित्व, समृद्धि र विकासमा नै केन्द्रित : अध्यक्ष दाहाल 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको ध्यान राजनीतिक स्थायित्व, समृद्धि र विकासमा नै केन्द्रित रहेको बताउनुभएको छ । 

नेपाली जनप्रगतिशील मञ्च जापानले जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको निर्वाचनपछि निर्माण हुने स्थिर र बलियो सरकारले आर्थिक विकासलाई प्राथमिकतामा राखेर लैजाने विश्वास व्यक्त गर्नुभयो । 

अध्यक्ष प्रचण्डले आफु दुई पटक प्रधानमन्त्री भएका बेला विकास र सुशासनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीको सीप आर्जन र अनुभवलाई सम्बोधन गर्ने प्रयत्न गरेको स्मरण गराउनुभयो । 

उहाँले विदेशमा रहेका नेपालीहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै मुलुकको आर्थिक विकासमा गैर आवासीय नेपालीको महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

अध्यक्ष प्रचण्डले आफू जापान भ्रमणमा रहँदा नेपाल–जापान सम्बन्धलाई सुदृढ बनाउने, दुई पक्षीय आर्थिक पक्ष र अन्य सहयोगलाई अझ प्रवर्द्धन गर्ने कुरामा केन्द्रित रहने उल्लेख गर्नुभयो । 

उहाँले नेपाल फेष्टिवलमार्फत नेपाली जनप्रगतिशील मञ्च जापानले नेपालको जातीय विविधता, सांस्कृतिक विविधता र भाषिक विविधतासँगै नेपाली उत्पादनको प्रवर्द्धन गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । 

नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानमा आज जापान जानुभएको थियो । 

जापान भ्रमणमा रहँदा उहाँले नेपाली जनप्रगतिशिल मञ्च जापानद्वारा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । 

अध्यक्ष प्रचण्ड जापान भ्रमण सकेर यही साउन २५ गते नेपाल फर्कने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button