तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमा रोजगारीको समस्या, बालकदेखि वृद्धसम्म काला पहाडतिर 

काला पहाड जान लागेका दैलेख आठबीस ५ का स्थानीय । तस्बिर: सागर परियार ।

जुम्ला । आठबीस नगरपालिका वडा नं. ५ निवासी ४६ वर्षका डिल्ली तिरुवाको करिब दुई दशक काला पहाड गएरै बित्यो । काला पहाड नगई तिरुवाको चुलो बल्दैन, लालावालाको मुखमा माड पर्दैन । १५ वर्षको उमेरबाट काला पहाड धाउन थालेका डिल्ली ४६ वर्ष पुग्दा पनि उहाँको काला पहाडको यात्रा छुटेको छैन । 

मुलुकमा सङ्घीयता लागु भयो । सिंहदरबारको अधिकार गाउँ गाउँमा आयो । तीन तहका सरकार सञ्चालन भए । अब त गाउँमै रोजगारी पाउँला, केही सुख सुविधा होला, काला पहाड छुट्ला भन्ने आशा थियो उहाँलाई । “तर स्थानीय तहले विपन्नलाई रोजगारी दिन सकेन । योजनामा टाठा बाठाकै हालीमुहाली भयो । गाउँमा काम गरेको ज्याला पनि पुरा पाइँदैन । स्थानीय सरकार आए पनि व्यवस्था फेरियो, अवस्था उस्तै छ । साहुको ब्याजे ऋणमा घर चलाउनुभन्दा परिवारका लागि बुढेसकालको हड्डी काला पहाडमै खियाउन बाध्य छु ।” उहाँले भन्नुभयो ।

उहाँका ६ वटी छोरी र१ छोरा छन् । उनीहरूको पढाई, घर खर्चका लागि गाउँको कमाइले पुग्दैन । बाध्यताले पनि काला पहाड जान लागेको उहाँको दुखेसो पोख्नुभयो । साउनमा गएर आउँदो वैशाखमा कम्तीमा ४ लाख नेपाली रुपैयाँ कमाएर ल्याउने उहाँको लक्ष्य छ । 

काला पहाड जान लागेका दैलेख आठबीस ५ का स्थानीय । तस्बिर: सागर परियार ।

“भारत जान छुटाउनु परो, गाउँमै दीर्घकालीन रोजगारी चाहियो । काला पहाड जानु, हाम्रो रहर हैन बाध्यात्मक हो ।” दैलेख आठबीस नगरपालिका वडा नं. ५ का २९ वर्षीय कलम विकले भन्नुभयो । 

“घरमा ८ जनाको परिवार छ । लुगाफाटो घर खर्च चलाउन काला पहाडको विकल्प छैन । गाउँमा उपयुक्त रोजगारी छैन । अझ आफु जस्ता विपन्न नागरिकलाई छाक टार्नै मुस्किल छ । जसका कारण १५ वर्षको उमेरबाट सुरु भएको काला पहाडको यात्रा २९ वर्ष पुग्दा पनि अझै छुटेको छैन ।” कलम विकले भन्नुभयो ।

उहाँले रोजगार सृजनामा सरकारी तहबाट देखिएको उदासीनताले आफु जस्ता गरिबको काला पहाड कहिले नछुट्ने बताउनुभयो ।

उहाँ जस्तै आठबीस नगरपालिका वडा नं. ५ दैलेखका १७ वर्षीय जग्ग टमटा कक्षा ९ पढ्दै हुनुहुन्छ । उहाँ घरको जेठो सन्तान हो । उहाँसँग पढेर जागिर खाने, परिवार पाल्ने लक्ष्य नभएको पनि हैन । तर घरायसी बाध्यताले पढाई त्यागेर उहाँ पनि काला पहाड हानिन बाध्य हुनुभयो । 

त्यस्तै, आठबीस नगरपालिका वडा नं.५ कै २० वर्षीय कविराज टमटाले पढ्ने रहर हुँदाहुँदै पनि घरको आर्थिक अवस्था कमजोर भएकोले कक्षा ८ बाटै पढाई छोड्नुभयो । उहाँ सँगैका साथी कलेज पढ्छन् । कोही जागिरे पनि भएका छन् । 

“विदेश जान भिसा लगाउने नत पैसा छ नत चिनजान छ । काला पहाडको कमाई बिना घर चल्दैन । पढाइभन्दा पापी पेट पाल्ने चुनौती खडा भएपछि पढ्ने रहर त्यागेर, घरबार त्यागेरै काला पहाड जान बाध्य छु ।” कविराजले भन्नुभयो ।

डिल्ली, कलम, जग्ग र कविराज उदाहरण मात्र हुन् । गाउँमा रोजगारी नहुँदा परिवार पाल्नका लागि आठबीस नगरपालिका वडा नं. ५ स्थित गोर्खी, ताउनी, सिंह साईना, रातचौलो, खर्कागडन, टिमुरे खर्क पिपलकोट लगायतका गाउँका सयौँ बुढादेखि बालासम्म सम्म काला पहाड गएका छन् । 

गएको बुधबार मात्रै आठबीस नगरपालिका–५ दैलेखका ५० जना बुढादेखि बाला काला पहाड गएका छन् । स्थानीय डिल्ली तिरुवाका अनुसार त्यसभन्दा अघि गाउँ नै पुरुष विहीन हुने गरी झण्डै १ सय बढी काला पहाड गइसकेका छन् । करिब आधा दर्जन बढी गाउँ अहिले महिलाले कुरिरहेका छन् । केही दुख विराम पर्दा पनि अस्पताल लिने सशक्त पुरुष गाउँमा छैन । 

कक्षा ८ देखि १० पढ्दै गरेको अधिकांश बालक, तथा ५० वर्षदेखि माथिका बुढा काला पहाड जाने गरेको पाइएको छ । 

बुधबार सुर्खेतदेखि जुम्ला आउने क्रममा खिड्कीज्युलामा काला पहाड जान गाडी पर्खिरहेका डिल्ली, कविराज लगायतका व्यक्तिसँग काला पहाड जानुपर्ने बाध्यता लगायतका विषयमा रेडियो नेपालकर्मी सागर परियारले स्थलगत रिपोर्टिङ गर्नुभयो भएको हो । 

युवा पलायन रोक्न, आयात प्रतिस्थापन गर्न तथा उत्पादन वृद्धिका लागि तीनै तहका सरकारले स्रोत पहिचान र परिचालन तथा रोजगारी सृजनामा विशेष जोड दिन आवश्यक छ । 

पाँच हजारभन्दा बढीले लिए पुनः श्रम स्वीकृति
श्रम तथा रोजगार कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार कर्णाली प्रदेशबाट मात्रै बितेको चार वर्षमा मात्रै साढे पाँच हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक गएका छन् । 

जस अन्तर्गत आव २०७८/०७९ मा कर्णालीबाट १ हजार ८ सय ८६ जनाले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका छन् । 

२०७५ साल माघ महिनादेखि कर्णालीबाटै पुनः श्रम स्वीकृति दिन थालिएको हो । 

श्रम तथा रोजगार कार्यालय सुर्खेतका प्रमुख सुनिता दर्लामीका अनुसार बितेको चार वर्षदेखि  हालसम्म ५ हजार ५ सय १३ जनाले पुनः श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि गएका छन् । यद्यपि कामका लागि काला पहाड भारत जानेको तथ्याङ्क भने यकिन छैन ।

तथ्याङ्क अनुसार आव २०७५/०७६ मा ९ सय २६ जना आव २०७६/०७७ मा २ हजार २६ जनाले पुनः श्रम स्वीकृति लिएका छ छन् । जसमध्ये एक हजार ९९० पुरुष र ३६ जना महिला रहेका छन् । 

यस्तै, आव २०७७/०७८ मा श्रम स्वीकृति लिनेको ६ सय ७५ जना थियो । कोरोना महामारीका कारण यस वर्ष वैदेशिक रोजगारीमा जानेको सङ्ख्या कम भए पनि आर्थिक वर्ष २०७८/०७९ मा भने यो सङ्ख्या बढेर १ हजार ८ सय ८६ जना पुगेको छ । 

श्रम तथा रोजगार कार्यालय प्रमुख दर्लामीका अनुसार यो कार्यालयबाट दोस्रो पटक वैदेशिक रोजगारीमा जानेहरूका लागि मात्रै श्रम स्वीकृति दिने गरिएको छ । 

वैदेशिक रोजगारीमा जानेमा प्रायः सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट जुम्लाका लगायत अन्य जिल्लाका छन् । 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button