तपाईँ सुन्दै हुनुहुन्छः

‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ’

चितवन । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधिहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस चितवनले आयोजना गरेको निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा उपसभापति खड्काले जनप्रतिनिधिहरू व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताउनुभयो ।

स्थानीय जनप्रतिनिधिका आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उहाँले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले काँग्रेसको घोषणापत्र र विचार बोकेर काम गर्नुपर्ने बताउनुभयो ।

अर्को फरक प्रसङ्गमा उपसभापति खड्काले अहिलेको गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन हुने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा देखिएको कमजोरी सबैले स्वीकार गर्दै आगामी कार्यक्रम बनाउनुपर्ने उहाँले बताउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । निर्वाचित जनप्रतिनिधि र पार्टीबिच समन्वय गर्नुपर्ने र त्यसले पार्टीलाई चलायमान बनाउने उहाँले बताउनुभयो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला उपसभापति राजीव न्यौपाने, महासमिति सदस्य गीता देवकोटा, जनप्रतिनिधिहरू भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटा लगायतले कार्यक्रममा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button