तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभामा विनियोजन विधेयक पेश

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभा बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता पेश गरेका छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त र प्राथमिकता सभामा पेश गर्नु भएको हो । 

बागमती प्रदेश सरकारले आगामी जेष्ठ १६ गते नीति तथा कार्यक्रम र असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने कार्यक्रम रहेको छ । प्रदेश सरकारले कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको बताइएको छ । ‘करको दायरा बढाउने र खर्च घटाउने नीति प्रदेश सरकारले लिने मन्त्री जम्मकट्टेलले बताउनुभयो । प्रदेशको आर्थिक अवस्थालाई गतिशील बनाउने साथै सङ्घीयताको मर्म र भावना अनुसार यस पटकको बजेट ल्याउने उहाँले बताउनुभयो । 

मन्त्री जम्मकट्टेलले कृषि, साना उद्योग र रोजगारी सिर्जना गर्ने गरी बजेट विनियोजन गर्ने दाबी गर्नुभयो । उहाँले पुँजीगत खर्च असाध्यै कमजोर रहेका कारण त्यसलाई बढाउने गरी बजेट विनियोजन गर्न जरुरी रहेको समेत औँल्याउनुभयो । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म ३५ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । 

विनियोजन विधेयक, २०७९ को सिद्धान्त र प्राथमिकतामाथि शनिवारबाट छलफल सुरु हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभाको शुक्रवारबाट सुरु भएको वर्षे अधिवेशनमा सरकारको तर्फबाट पाँच वटा अध्यादेश पेश भएको छ । अधिवेशनको सुरुवातमा आज प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button