तपाईँ सुन्दै हुनुहुन्छः

कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कारबाट ४ पत्रकार पुरस्कृत

काठमाडौँ । पत्रकार सहिद कृष्ण सेन ‘इच्छुक’ को २० औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले ४ जना पत्रकारहरूलाई पुरस्कृत गरेको छ । 

सेन्टरले कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सङ्गठनका संस्थापक अध्यक्ष तथा इन्चार्ज महेश्वर दाहाल र संस्थापक सदस्य तथा नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष गोविन्द आचार्यलाई पुरस्कृत गरेको छ । 

५० हजार राशि रहेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार आचार्यलाई २०७८ सालको र दाहाललाई २०७९ सालको पुरस्कार प्रदान गरिएको सेन्टरका अध्यक्ष विष्णु सापकोटाले बताउनु भयो । गत कोभिड–१९ का कारण पुरस्कार स्थगित गरिएको थियो ।

त्यसैगरी वरिष्ठ पत्रकारहरू शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापना गरिएको शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कारबाट संस्थापक सदस्य तथा निवर्तमान उपाध्यक्ष बलराम थापा र सेन्टरका निवर्तमान उपाध्यक्ष लक्ष्मी पुनलाई पुरस्कृत गरिएको छ । थापालाई २०७८ र पुनलाई २०७९ सालको पुरस्कार प्रदान गरिएको हो। शक्ति–तारा स्मृति पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको सेन्टरले जनाएको छ ।

पुरस्कार प्रदान गर्नका लागि प्रेस सेन्टरले नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीको संयोजकत्वमा गोविन्द देवकोटा र गङ्गा बराल सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो। 

इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा काठमाडौँको बुद्धनगरमा शुक्रवार बिहान आयोजित अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहमा पुरस्कृत पत्रकारहरूलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button