तपाईँ सुन्दै हुनुहुन्छः

दुई कर्मचारीविरुद्ध यौन दुर्व्यवहारको उजुरी

नेपालगञ्ज। बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । कैलालीको टीकापुर वनभोजमा गएका बेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुर्व्यवहार गरेको सोही गाउँपालिकाकै एक महिला कर्मचारीले आरोप लगाउनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले खराल र सुनारमाथि यौन दुर्व्यवहारको उजुरी परेको पुष्टि गर्नुभयो ।

यौन दुर्व्यवहारको आरोप लागेका कर्मचारीमध्ये खराललाई बाँकेको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ भने अर्का कर्मचारी सुनार जिल्ला बाहिर रहेको जनाइएको छ । घटनाको वास्तविक कुरा अनुसन्धानबाट थाहा हुने र सोहीबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button