तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । 

जसअनुसार नेतृत्व चयनका लागि मङ्सिर २७ गते मतदान हुनेछ । काँग्रेस केन्द्रिय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि ५ बजेसम्म हुनेछ । 

यस्तै दाबी विरोधको समय २५ गते बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही राति ९ देखि १२ बजेसम्म हुनेछ । 

file photo

यस्तै मनोनयन पत्र फिर्ताका लागि मङ्सिर २६ गते बिहान ११ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मङ्सिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेद्वारा आज जारी सूचनामा उल्लेख छ ।

निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै सुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रियसभा गृहमा हुने निर्वाचन समितिले जनाएको छ । 

यसैगरी नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । 

निर्वाचन समितिले उम्मेदवार रहने केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरूको लागि आचारसंहिता लागू गरेको हो । 

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेद्वारा आज जारी आचारसंहिता अनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल विवरणमा गर्न सकिने तर कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार–प्रसार गर्न रोक लगाइएको छ । 

यस्तै भृकुटीमण्डपस्थित महाधिवेशन स्थल वरिपरि ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री राख्न मनाही गरिएको छ भने मतदान स्थलभित्र प्रवेश गर्न प्रतिनिधिलाई मोबाइल निषेध गरिएको आचारसंहितामा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button