तपाईँ सुन्दै हुनुहुन्छः

कृषि सामग्री ढुवानीको लागि कृषि सहकारीलाई ४७ वटा सवारी साधन प्रदान

रुपन्देही । कृषि सहकारीलाई कृषि सामग्री ढुवानीको लागि हेफर इन्टरनेशनल नेपालले बुधवार ४७ वटा सवारी साधन प्रदान गरेको छ । 

यसअघि यो संस्थाले यही प्रकारका सहकारीलाई २८ वटा सवारी साधन प्रदान गरेको थियो । 

उक्त सवारी साधन २२ देखि २४ लाखका हुन् । त्यसमा सहकारी र हेफरको ५०/५० प्रतिशत लगानी रहेको छ ।

रुपन्देहीको तिलोत्तमामा ती सवारी साधनको चाबी लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सहकारीका सदस्यलाई हस्तान्तरण गर्नुभयो ।

कृषिजन्य उत्पादनको बजारीकरणको क्रममा नियमित ढुवानी सेवा उपलब्धता प्रमुख समस्या रहेको भन्दै त्यसको समाधानका लागि सहकारी तथा हेफर इन्टरनेशनलको आर्थिक साझेदारीमा ढुवानी साधनहरू सहकारीको स्वामित्वमा व्यवस्थापन गर्ने गरी प्रदान गरिएको हेफरका कार्यक्रम संयोजक अनन्तराम सिलवालले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक समृद्धिका लागि कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै सवारी साधन सहकारीलाई प्रदानपछि बजारीकरणमा टेवा पुग्ने बताउनुभयो । 

उहाँले कृषकले उत्पादन गरेका वस्तुहरू बजारमा समयमा नपुराउँदा बस्तु उत्पादनको लागत मूल्यसमेत नपाउने गरेको यथार्थ सवैसामु प्रष्ट रहेको बताउँदै सवारी साधनको उपलब्धताले अब गाउँको बस्तु सहरसम्म सजिलै पुग्ने बताउनुभयो । 

समृद्धिको लागि मुख्य आधार मानिएको कृषिलाई कृषि सहकारीमार्फत आर्थिक सबलीकरण गर्न सकिने भएकाले उहाँले सरकारले पनि उत्पादनमा आधारित रहेर कृषकलाई अनुदान दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा आर्थिक योजना तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबैसँग सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभयो । 

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले दिगो विकास लक्ष्य प्राप्त हुने गरी कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजनाहरू निर्माण गरिएको बताउनुभयो ।

हेफरका कार्यकारी निर्देशक डा. तिर्थ रेग्मीले मूल्य श्रृङखलामा आधारित बजार प्रणाली विकास तथा प्रवर्द्धन गरी उद्यमी किसानको विकास गर्ने लक्ष्यअनुसार देशभर १ सय ६० सङ्कलन केन्द्र तथा ५ सय २३ शाखा सङ्कलन केन्द्रहरू स्थापना गरी दूध, तरकारी तथा खसी बोकाको बजारीकरण गर्दै आएको बताउनुभयो ।

हेफरले प्रदेश १ का झापा र मोरङमा ३ वटा, प्रदेश २ को सर्लाहीमा १, महोत्तरीमा १, बाग्मती प्रदेशका चितवनका ३, धादिङका ३, सिन्धुलीका १ तथा नुवाकोटका २ वटा सहकारीलाई सवारी साधन प्रदान गरेको हो ।

यसैगरी, गण्डकी प्रदेशबाट बागलुङका २, नवपरासीका २, कास्कीका  २, लमजुङका १, तनहुँ र पर्वतका १/१ वटा कृषि सहकारीलाई सवारी साधन प्रदान गरेको हो । 

त्यस्तै लुम्बिनी प्रदेशका  दाङ १, पाल्पा ७, प्युठान १, बाँके ५, गुल्मी २, कपिलवस्तु १, कर्णाली प्रदेशबाट बर्दियाका ३ र सुर्खेतका २ गरी ४७ वटा सहकारीलाई सवारी साधन प्रदान गरेको हो ।

किसानले उत्पादन गरेका पशुवस्तु तथा अन्य कृषि उपजको ढुवानीमार्फत ४७ सहकारीमा आबद्ध ४५ हजार किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button