तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमण नियन्त्रणका लागि तयारी भइरहेको छ: प्रदेश मन्त्री यादव

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विरुद्धको राम्रो तयारी भइरहेको बताउनुभएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो भइरहेको बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधवार विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालाबिच गरिएको प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रममा मन्त्री यादवले सो जानकारी दिनुभएको हो । १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उहाँले बताउनुभयो । 

प्रदेश सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि बेडहरू थप गरिएको उहाँले बताउनुभयो । प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको मन्त्री यादवको भनाई छ । 

कोरोना संक्रमण हुन नदिनका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन उहाँले आग्रह गर्नुभयो । साहस नै रोगको उपचार भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाए कोरोनाबाट डराउनु नपर्ने मन्त्री यादवको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button