तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका छ जिल्ला बाढी पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढी पहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढी पहिरोले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो । 

सोही माग बमोजिम गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । 

सरकारको निर्णयअनुसार डडेलधुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी तथा डोटीलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । 
असोज अन्तिम सातादेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले दजर्नौंको मृत्यु भएको थियो भने करोडौँको बालीनाली नोक्सान भएको थियो । 

बाढी पहिराले सुदूरपश्चिमका बझाङ, बाजुरा, बैतडी, दार्चुला तथा डोटीका नागरिकहरू अलपत्र परेका थिए भने कतिपय घरबारविहीन भएर बास बस्नका लागि पनि समस्यामा परेका छन् ।

सुदूरपश्चिमका नौ वटा जिल्लामध्ये सबैभन्दा बढी मानवीय क्षति बझाङ तथा डोटीमा भएको थियो । बेमौसमी अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा ३७ जनाको मृत्यु भएको थियो भने अर्बौँको धनजनको क्षति भएको थियो ।

सुदूरपश्चिमका डोटी र डडेलधुरामा पाँच/पाँच, बझाङका चार तथा बैतडी, बाजुरा र दार्चुलाका दुई/दुई पालिका सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका, केआईसिंह, आदर्श, जोरायल र सायल गाउँपालिका र डडेलधुराका नवदुर्गा, अमरगढी, आली ताल, गन्यापधुरा र परशुराम गाउँपालिका सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन् । 

यसका साथै बझाङका थलारा, बित्थडचिर, खप्तडछान्ना र जयपृथ्वी गाउँपालिका, बैतडीका सिगास  र शिवनाथ गाउँपालिका, दार्चुला दुहुँ र अपी हिमाल गाउँपालिका र बाजुराका हिमाली र जगन्नाथ गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button