तपाईँ सुन्दै हुनुहुन्छः

क्षतिग्रस्त पूर्वाधार र संरचना निर्माणको सङ्कल्प पूरा गर्न नेपाल सफल : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद्पछिको क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणमा प्राप्त उपलब्धि भविष्यका लागि समेत अनुकरणीय भएको बताउनुभएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ भन्ने मूल नारासहित आयोजना गरेको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले क्षतिग्रस्त पूर्वाधार र संरचना निर्माणमा नेपालले गरेको अठोट र सङ्कल्प पूरा गर्न सफल भएको बताउनुभयो । 

उहाँले मुलुकभित्रका राजनीतिक दल, नागरिक समाज र नेपाली जनताको साथ लिँदै नेपाल सरकारले विपद्पछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम प्रशंसनीय भएको उल्लेख गर्दै विनाशकारी भूकम्पले ठूलो आहत पुर्‍याए पनि राम्रो पाठ सिकाएको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले विपद्पछि लगत्तै नेपालले गरेको अन्तर्राष्ट्रिय सम्मेलनबाट प्राप्त प्रतिबद्धता र प्रतिबद्धता अनुसारको अन्तर्राष्ट्रिय दातृ निकाय र विकास साझेदारबाट सहयोग प्राप्त भएकोमा खुसी लागेको पनि बताउनुभयो । 

This image has an empty alt attribute; its file name is pree.png

उहाँले विपद्पछिको पुनर्निर्माणमा नेपालले प्राप्त गरेको उपलब्धि, सिकाई र अनुभव अन्तर्राष्ट्रिय सम्मेलनमा साट्न पाउनु नेपालको महत्त्वपूर्ण उपलब्धि भएको स्पष्ट पार्नुभयो ।

परराष्ट्र मन्त्री डा.नारायण खड्काले विपद्पछिको त्रासदीपूर्ण र मानसिक असरका बाबजुद पुनर्स्थापना र पुनर्निर्माणमा भएको उपलब्धि, सहकार्य र सिकाई महत्त्वपूर्ण रहेको बताउनुभयो । 

उहाँले भूकम्पपछिको पुनर्निर्माणमा प्राप्त द्विपक्षीय तथा बहुपक्षीय सहयोग, दातृ निकाय तथा विकास साझेदारको सहयोगप्रति आभार व्यक्त गर्दै विपद् र विपद्पछिको पुनर्निर्माणमा नेपालको उपलब्धि, अनुभव र सिकाई साट्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

अर्थमन्त्री, जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माण सन्तोषको विषय मात्र नभएर सबै राजनीतिक दलहरू बिचको समझदारी र दातृ निकाय र विकास साझेदार बीचको सहकार्य उल्लेखनीय रहेको बताउनुभयो । 

This image has an empty alt attribute; its file name is Pro_Ktm_Punarnirman_president-1024x682.jpg

अर्थमन्त्री शर्माले भूकम्पपछि क्षतिग्रस्त ऐतिहासिक, सांस्कृतिक सम्पदा एवम् निजी आवास पुन निर्माण ९० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी संरचना पुनर्निर्माण पनि प्राथमिकतामा राखेर सम्पन्न गरिने जानकारी दिनुभयो । 

सम्मेलनमा विभिन्न राष्ट्रका परराष्ट्र मन्त्री, राजदूतहरूले २०७२ को महाभूकम्पपछि नेपालले राहत, पुनर्स्थापना, पुनर्निर्माणको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि र सिकाइ हासिल गरेको बताउँदै विपद्को समयमा सहयोग र सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो । 

भोलि(बिहीबार)सम्म चल्ने सम्मेलनमा निजी आवास, सांस्कृतिक सम्पदा, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरू समेत गर्ने कार्यक्रम छ ।

सम्मेलनमा स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button