तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ विचार विकास गर्न लागिपरेका छौँ: अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताउनुभएको छ ।

खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उहाँले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास गर्न लागिएको बताउनुभयो ।

उहाँले मधेसकै पहिचान र अधिकारका निम्ति आफूहरूले लडाइँ लडेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिचमा मधेसी जनतामा भ्रम दिने पनि काम भयो । तर अहिले मधेसमा माओवादी केन्द्रप्रति लहर आएको छ । म मधेसका विभिन्न जिल्लाका कार्यक्रममा जाँदा मैले जनतामा माओवादीप्रति उत्साह देखेको छु ।”

मधेसी जनताको मुक्ति र अधिकारको कुरा गर्ने र उनीहरूलाई अगाडि बढाउने हो भने माओवादी केन्द्रबाहेक अरू कसैको पनि विचार त्यहाँका जनताको पक्षमा नभएको उहाँको दाबी थियो ।

एक अर्को प्रसङ्गमा अध्यक्ष दाहालले आफूले नेपालको समाजवाद कस्तो हुने भन्नेमा बहस गर्ने र नेपाली जनतालाई अझ माथि कसरी उठाउने भन्ने बारेमा प्रतिवेदन लेखिरहेको बताउनुभयो ।

उहाँले पार्टीमा पुनः जोडिन आएका नेता तथा कार्यकर्ताहरूलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त पनि व्यक्त गर्नुभयो । 

झन्डै दुई दर्जन नेता तथा कार्यकर्ता एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button