तपाईँ सुन्दै हुनुहुन्छः

स्वयंसेविकाको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड

अछाम । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रम गरी दिवस मनाइरहँदा उनीहरूलाई उचित सम्मान हुनुपर्नेमा जोड दिइएको छ । 

स्वास्थ्य क्षेत्रमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेको योगदान र उनीहरूको सम्मानमा देशभर यो दिवस मनाइएको हो ।

स्वास्थ्य कार्यालय अछामका अनुसार अछाम जिल्लामा करिब ९ सय ४१ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । उनीहरूले अछामको ग्रामीण क्षेत्रको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको पाइएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रणमा गरेको कार्य र अन्य बालबालिकाको स्वास्थ्य प्रति देखाएको सद्भाव महत्त्वपूर्ण रहेको छ । तर, महिला स्वास्थ्य स्वयंसेविकाले गरेको काम र दुखमा राज्यको नजर नपरेको स्वयंसेविकाहरूको भनाइ छ । 

उनीहरू सामान्य तालिम भत्ता र खाजा खर्च बाहेकको सेवा सुविधा पाउँदैनन् । सरकारले उनीहरूले पाउने वार्षिक भत्ता, पोसाक खर्चहरू स्थानीय तहमा पठाउने गरेको भए पनि महिला स्वास्थ्य स्वयंसेविकाहरूले सहजै प्राप्त गर्न नसकेको बताएका छन् ।

यता स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले अछामको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रण, बालबालिकालाई खोप सेवा र अन्य सुत्केरी तथा गर्भवती महिलाको लागी गरेको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

उहाँले स्वयंसेवक पेसामा रहेको उनीहरूले विना स्वार्थ र लाभमा निःशुल्क जनताको सेवा गरेको तर्फ सरकारको ध्यान नगएको बताउनुभयो । राज्यले उनीहरूको उचित व्यवस्थापन र उचित पारिश्रमिकको व्यवस्था गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button