तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडी प्रोत्साहन कार्यक्रम ल्याउँछौंः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशमा खेलको विकास लागि खेलाडी प्रोत्साहन कार्यक्रम ल्याइने बताउनुभएको छ । 

सुर्खेतको वीरेन्द्रनगरमा आज रङ्गशाला निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले खेलको पूर्वाधार विकाससँगै खेलकै माध्यमबाट खेलाडीले आफ्नो जीवन निर्वाह गर्न पुग्ने गरी कार्यविधि नै बनाएर प्रोत्साहन कार्यक्रम ल्याउन लागिएको जानकारी दिनुभयो ।

उहाँले नवौँ राष्ट्रिय खेलकुदका लागि दक्ष खेलाडी उत्पादनसँगै आवश्यक पूर्व तयारी आजैबाट सुरु गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहनु भएका मुख्यमन्त्री शाहीले पदक जितेर आउने प्रदेशका सबै खेलाडीलाई प्रोत्साहन गर्न तत्काल कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन सचिवलाई निर्देश दिनुभयो । 

उहाँले खेल र खेलाडीमा हुने राजनीतिकरणलाई निस्तेज पार्दै राजनीति आवरणमा खेलिने खेल अन्त्य गर्न आफु प्रतिबद्ध रहेको जिकिर गर्नुभयो । 

रङ्गशालालाई प्रदेशकै गौरवको आयोजनाका रुपमा विकास गर्न लागिएकाले आउँदो ३० महिनाभित्रै द्रुत गतिमा रङ्गशाला निर्माण पुरा हुनेमा विश्वस्त रहन मुख्यमन्त्री शाहीले सर्वसाधारणलाई आग्रह गर्नुभयो । 

विकास निर्माणमा हुने ढिलासुस्ती अब सह्य नहुने भन्दै उहाँले खेलकुदको विकासलाई पहिलो प्राथमिकतामा राखेर पहिलो गौरव आयोजनाका रुपमा रङ्गशाला निर्माण गर्न लागिएकाले सबै पक्षको साथ र समन्वय आवश्यक रहेको औँल्याउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button