तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशको समग्र विकासका लागि प्रदेश सरकार लागेको छ : मुख्यमन्त्री भट्ट

अछाम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले नागरिकको जीवनमा परिवर्तनको महसुस हुने गरी काम गरिरहेको बताउनुभएको छ । अछामको मेल्लेख गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको गरिबी, बेरोजगारी, किसानका समस्या समाधान गर्ने तथा आत्मनिर्भर बनाउने गरी प्रदेश सरकार अघि बढिरहेको दाबी गर्नुभयो । 

नेकपा माओवादी केन्द्र मेल्लेख गाउँपालिकाको अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सह इन्चार्ज समेत रहनु भएका मुख्यमन्त्री भट्टले देशलाई समग्र रूपमा परिवर्तन गर्न चाहने पार्टी माओवादी भएको बताउनुभयो । अहिलेको आमूल परिवर्तनको श्रेय माओवादी केन्द्रले गरेको दश बर्षे जनयुद्धलाई जाने बताउँदै मुख्यमन्त्री भट्टले अहिले जनताले घरको नजिक सरकार पाएको दाबी गर्नुभयो । 

यस्तै राष्ट्रिय सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तारामान स्वारले समाजवादी क्रान्ति गर्नको निम्ति सबै मिल्नु पर्नेमा जोड दिनुभयो ।  

माओवादी केन्द्र अछाम जिल्ला इन्चार्ज झपट साउद, डोटी जिल्ला इन्चार्ज शिव सिंह ओली, प्रदेश कमिटी सदस्य दीपक साउद, प्रदेश कमिटी सदस्य एवं मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा लगायतले धारणा राख्नुभएको थियो । 

मुख्यमन्त्री भट्टले गाउँपालिका द्वारा निर्माण गरिएका विभिन्न भौतिक संरचनाहरूको समेत अवलोकन गर्नुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button