तपाईँ सुन्दै हुनुहुन्छः

जागिरभन्दा कृषि कर्मले थपिएको अर्यालको खुसी

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिका १ थापाथोकका पीताम्बर अर्याललाई ९ वर्षे सुकिलो मुकिलो जागिरले भन्दा आफ्नै कृषि व्यवसायले खुशी मिलेको छ । ५ वर्ष शिक्षक र ४ वर्ष सहकारीको म्यानेजर भएर काम गर्नुभएका अर्याल विगत ४ वर्षदेखि व्यावसायिक रूपमा कृषिमा लाग्नुभएको हो । 

घरमा बुवाको पालादेखि नै सुन्तला त हुन्थ्यो तर अहिले जस्तो व्यावसायिक थिएन । अर्यालले भन्नुभयो, ‘सुन्तला खेती त बुवाको पालादेखि नै विगत १२ वर्षबाट हुँदै आएको छ । तर अहिले व्यावसायिक रूपमा गरेको हुँ । 

बुवाको पालामा यसरी सुन्तलाबाट पैसा हुन्थेन । अहिले सुन्तलाले पैसा दिएको छ ।’ विगत ४ वर्षदेखि दाजुभाइ एकीकृत कृषि फर्म दर्ता गरेर व्यावसायिक रूपमा सुन्तलासँगै पशुपालन गर्नुभएका अर्याललाई शुरु शुरुमा लाज पनि लाग्यो । शिक्षक र प्रबन्धकको रूपमा सम्मान र पहिचान कमाउनुभएका अर्याललाई जागिर छाडेर डोको बोक्न अप्ठ्यारो पनि नभएको होइन । तर बिस्तारै समय बित्दै जाँदा ९ वर्ष जागिरमा समय बिताउनुभन्दा व्यावसायिक रूपमा अगाडि बढेको भए अझै माथि पुग्थेँ भन्ने लाग्छ ।

उहाँको एकीकृत फर्ममा अहिले साढे ६ सय बोटमा लटरम्म सुन्तला झुलेका छन् भने १७० बोट हुर्कँदो अवस्थामा छन् । सुन्तलासँगै उहाँको फर्ममा लोकल कुखुरा, कडकनाथ कालो कुखुरा, बट्टाई चरा, ब्रोइलर १८०० गरी दुई हजार भन्दा धेरै विभिन्न जातका कुखुराहरू छन् । गत वर्ष सुन्तलाबाट १४ लाख आम्दानी गर्नुभएको अर्यालले कुखुराबाट ९ लाख आम्दानी गर्नुभएको थियो । अर्यालले भन्नुभयो, ‘सुन्तलाको लागी त्यति धेरै समय हेरिरहनु पर्दैन, कुखुराहरूका लागी घर परिवारसँगै मिलेर काम गरेको छु । अहिले भने सुन्तला ४० प्रतिशत कम फलेको छ ।’ 

अर्यालले सुन्तलालाई ग्रेड अनुसार जेठो, माइलो र कान्छो गरेर बिक्री गर्दै आउनुभएको छ । जेठो सुन्तला अर्थात् ठुलो सुन्तला पोखरा र माहिलो मझौला र कान्छो सानो बुटवलमा बिक्री गर्दै आउनुभएको छ । अहिले ठुलो सुन्तला समेत थोक मूल्यमा सय रुपैयाँमा बिक्री भइरहेको छ । अहिले बजारमा सुन्तला आइसकेका छन् तर अर्यालले भने पुस १५ पछि मात्रै बिक्री गर्दै आउनुभएको छ । 

२०७५ सालमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशबाट साढे ५ लाख अनुदान प्राप्त गर्नुभएका अर्याललाई सुन्तला सुपर जोनमार्फत सुन्तला खेतीका लागी सहयोग भइरहेको छ ।  कर्म गरे स्वदेशमै फल प्राप्त हुने भन्दै युवाहरूलाई त्यत्तिकै समय खेर नफाल्न अर्यालको आग्रह छ ।

सुपरजोनले आवश्यक ज्ञान र कृषि औजार समेत अनुदानमा वितरण गर्दै आएको छ । यो वर्ष पनि सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । तर अन्य ठाउँको तुलनामा अर्जुनचौपारीमा औँसाको प्रकोप कम देखिएको छ । औँसा किरा नियन्त्रण गर्न कृषि ज्ञान केन्द्रले आवश्यक सहजीकरण तथा अभिमुखीकरण गराउँदै आएको छ । 

झरेका सुन्तलाहरूलाई प्लास्टिकमा पोको पारेर व्यवस्थापन गरियो भने किरा जमिनमा छोइन नपाएपछि लार्भा उत्पादन हुन सक्दैन र यसको नियन्त्रण गर्न सकिने ज्ञान केन्द्रले जनाएको छ । दैनिक हजारौँ युवाहरू विदेशकै लागी होमिरहेका र पढाई अनुसार जागिर पाइन भन्दै समय व्यथित गर्नेहरूका लागि अर्याल एक उदाहरणीय युवा बन्नुभएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button