तपाईँ सुन्दै हुनुहुन्छः

‘सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको पहुँच उत्साहजनक’

काठमाडौँ । सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको पहुँच बाग्मती बाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको नेपाल राष्ट्र बैकले जनाएको छ । 

औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकता प्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको छ । 

नेपाल राष्ट्र बैकले हालै गरेको एक अध्ययनले वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने आवश्यक देखिएको औँल्याएको छ ।

अध्ययनले पछिल्ला वर्षहरूमा बाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको देखाएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा बैङ्क तथा वित्तीय संस्थाको कुल शाखा सङ्ख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत) बाग्मती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेका छन् । 

बैङ्क तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत बाग्मती प्रदेशमा वितरण भएको अध्ययनले देखाएको छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ । 

अध्ययनमा चारै वर्गका बैङ्क तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button