तपाईँ सुन्दै हुनुहुन्छः

गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिन मुख्यमन्त्री अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशको गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराद्वारा आज यहाँ आयोजित तृतीय प्रगति समीक्षा गोष्ठीमा मुख्यमन्त्री अधिकारीले कृषि र पशुपालनलाई अगाडि नबढाउँदासम्म गरिबी हटाउन नसकिने बताउनुभयो । गण्डकी प्रदेशलाई मासु, माछा, अण्डा, दूधलगायतमा पूर्ण आत्मनिर्भर बनाउँदै निर्यात गर्न सक्ने अवस्थामा लैजाने उहाँले बताउनुभयो ।

किसान तथा उपभोक्ताको हितका लागि विचौलियाको अन्त्य हुनुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री अधिकारीले यसको समाधानका लागि पशुपालक किसान र उपभोक्ताबीचमा सरकारले पुलको काम गर्न आवश्यक भएको उल्लेख गर्नुभयो । बिचौलियाका कारण किसानलाई लागत खर्च उठाउन मुस्किल हुँदा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था तथा उपभोक्तालाई चर्को मूल्य तिर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।

स्थानीय तथा प्रदेश सरकारले न्यूनतम समर्थन मूल्य तोकेर मासु खपत गराउने र बजारसम्म पुर्‍याउने काम गर्नुपर्नेमा मुख्यमन्त्री अधिकारीले जोड दिनुभयो । मासु तथा दुग्धजन्य पदार्थ उत्पादन गरेपछि बेच्ने कहाँ भन्ने चिन्तासमेत हुने गरेकाले बजारीकरणसहित बजारको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । गण्डकी प्रदेशमा दोस्रो पञ्चवर्षीय योजनाको आधार पत्र बन्दै गरेका कारण त्यसलाई थप परिपक्व बनाउनका लागि सुझाव दिन मुख्यमन्त्री अधिकारीले आग्रह गर्नुभयो ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा टङ्कप्रसाद प्रसाईँ, निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाँइ (भट्टराई), डा.बालकुमार श्रेष्ठ, डा.सपनालक्ष्मी घिमिरे, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले प्रगति विवरणसहितका प्रस्तुति राख्नुभएको थियो

। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button