तपाईँ सुन्दै हुनुहुन्छः

चैतभित्र सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने : राज्यमन्त्री श्रेष्ठ

काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैंसम्म कम्तीमा ३३ प्रतिशत नागरिकले खोप लगाए सक्ने बताउनु भएको छ । दशैभित्र ३३ प्रतिशत र चैतभित्र सबै नेपाली नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने छन्, राज्यमन्त्री श्रेष्ठले बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले दशैंपछि बालबालिकाका लागि खोप आउने बताउनुभयो  । सुरूमा १ लाख खोप बालबालिकाका लागि आउने र नेपालमा बालबालिकाका लागि १ करोड डोज आवश्यकता रहेको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो । 

’अहिले धेरैको चासो बालबालिकाको खोपको बारेमा रहेको र त्यो पनि सरकारले सुनिश्चितता गरिसकेको उहाँले बताउनुभयो  । दशैं लगत्तै बालबालिकाका लागि पहिलो चरणको खोप नेपाल आउने र सबै बालबालिकालाई पुग्ने खोप सरकारले ल्याउने  राज्यमन्त्री श्रेष्ठले दाबी गर्नु भएको छ ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १० चण्डेनी मण्डनमा आज स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नु भएको छ ।

पहिलेको स्वास्थ्य चौकी भवन २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यस यताको पराकम्पले क्षति ग्रस्त बनेको थियो ।

सो स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भए पछि अस्थायी टहरामा स्वास्थ्य सेवा दिँदै आएको छ । स्वास्थ्य चौकी भवन भारत सरकारको आर्थिक अनुदान सहयोगमा निर्माण हुन लागेको हो । हालको स्वास्थ्य चौकी रहेको कटहरेचौरमै नयाँ भवन निर्माण सुरू गरिएको हो । स्वास्थ्य चौकी भवन २ करोड ८२ लाख ६५ हजार १ सय २१ रुपैयाँ लागतमा निर्माण हुनेछ । 

बढीमा १८ महिनाभित्र निर्माण पुरा गरी सक्नु पर्ने सम्झौतामा उल्लेख छ । स्वास्थ्य चौकी निर्माणपछि वडावासीलाई स्वास्थ्य तथा सुत्केरी सेवा प्राप्त गर्न थप सहयोग हुने विश्वास लिइएको छ । 

प्रमुख कार्यकारी अधिकृत प्रणराज न्यौपानेले नगरपालिकाको थोरै मात्रै सरकारी भवन पक्की रहेको भन्दै चण्डेनीमण्डन स्वास्थ्य चौकीको गुणस्तरीय भवन निर्माण हुनेमा नगरपालिका ढुक्क रहेको बताउनु भयो । स्थानीयलाई सो भवन निर्माणको बेला बेलामा अनुगमन गर्न समेत उहाँले आग्रह समेत गर्नु भयो ।

काभ्रे जिल्लामा ११ वटा नेपाल सरकार र १२ वटा स्वास्थ्य चौकी भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) काभ्रेका प्रमुख सन्तोष निरौलाले बताउनु भयो । समयमै यो स्वास्थ्य चौकी निर्माण सम्पन्न हुनेमा आफु विश्वस्त रहेको उनले जानकारी दिनु भयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गृह सचिव एवं प्रधानमन्त्री शेर बहादुर देउवाका प्रशासनिक सल्लाहकार जनार्दन नेपालले भवनको गुणस्तरीयताका लागि चनाखो हुन स्थानीय बासीलाई आग्रह गर्नु भएको छ । हरेक स्थानीय व्यक्तिले चासो राखे मात्रै गुणस्तरीय भवन बन्ने उहाँको दाबी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button