तपाईँ सुन्दै हुनुहुन्छः

निर्धक्क भई मतदान गर्न आयोगको अपिल

काठमाडौँ । भोलि इलाम र बझाङमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उप निर्वाचनको सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

इलामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १/१ मा भोलि उप निर्वाचन हुँदै छ ।

भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई आफूले छानेको उम्मेदवारलाई निर्धक्क भई मतदान गर्न सबै मतदाताहरूमा आयोग अपिल गरेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट सुरु भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आचारसंहिताको पालनामा आयोगले विशेष सजगता अपनाएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो ।

मतदानका दिन निर्वाचनको स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको सहायक प्रवक्ता पाण्डेयले बताउनुभयो ।

निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिने आयोगले जनाएको छ ।

उपनिर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चारमाध्यम लगायत सबै सरोकारवालाहरूको सहयोग र सहभागिताबाट निर्वाचन सम्पन्न हुने आयोगले विश्वास लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button