तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदी किनारमा फस्टाउँदै ‘बगर खेती’

नेपालगञ्ज । बर्खायाममा राप्ती नदीको बहावले ढाक्ने बगर क्षेत्रमा अन्य समयमा भने बगर खेती गरेर किसानले राम्रो आम्दानी गर्दै आएका छन् । बर्खायाम बाहेक राप्ती बगर क्षेत्र किसानका लागि वरदान नै सावित भएको छ । बाँके र दाङका सात स्थानीय तहका किसानले बगर खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

राप्ती नदीले मनसुन अवधिमा तटीय क्षेत्रमा वितण्डा नै मच्चाउँछ । तर, जब नदीको भेल शान्त हुँदै जान्छ तब त्यही बगरमा किसानहरुले आफ्नो पसिना पोख्न थाल्छन् । बगर खेती गर्दै आउनुभएका कृषक राजकुमार कुमालले तरकारी र फलफूल फलाएर राम्रो कमाई गरिरहनुभएको छ । आफू जस्तै धेरै किसानहरू बगर खेतीप्रति आकर्षित देखिएको कुमालको भनाई छ ।

किसानहरुले बगरमा काँक्रा, लौका, फर्सी, तरबुजा लगायतको खेती गर्ने गरेका छन् । बगरमा काँक्रा फलाएर गत बर्ष ३ लाख बचत गर्नुभएकी कान्छी थारुले यो बर्ष पनि पाँच कठ्ठा बगरमा खेती गर्नुभएको छ । यो बर्ष पनि राम्रै कमाई हुने आशा कान्छीको छ ।

राजकुमार र कान्छी जस्तै नदीले ढाकेको र कटान गरेर छाडेको बगरमा बाँके र दाङका सात गाउँपालिकाका तटीय क्षेत्रका किसानले तरकारी फलाएर मनग्य आम्दानी गरिरहेका छन् । लमही नगरपालिकामा मात्र तीन सय जति किसान बगर खेतीमा आबद्ध रहेको कृषि प्राविधिक गंगा चौधरीले बताउनुभयो । उहाँले किसानलाई अनुदान पनि दिइरहेको बताउनुभयो ।

बाँकेका राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिका तथा दाङको लमही नगरपालिका तथा गढवा, राजपुर र राप्ती गाउँपालिकाका एक हजार किसान बगर खेतीमा संलग्न रहेको स्थानीय सरकारहरू बताउँछन् । बगर खेतीका लागि स्थानीय सरकारले अनुदान समेत दिने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button